
मंसिर १९ पोखरा
पर्यटन राजधानीका रूपमा परिचित पोखराको लेकसाइड क्षेत्र यस वर्ष पनि भव्य सडक महोत्सवका लागि तयारी अवस्थामा छ। रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराको आयोजनामा हुने २७ औं पोखरा सडक महोत्सव आगामी पुस १३ देखि १७ गतेसम्म लेकसाइडको करिब ३ किलोमिटर क्षेत्रमा उत्साहपूर्वक मनाइने भएको छ।
‘सडकमै खाउ, सडकमै रमाउ’’ भन्ने नारासहित प्रत्येक वर्ष अंग्रेजी नयाँ वर्षको स्वागतसंगै मनाइने यो महोत्सवले पोखरालाई आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्दै आएको आयोजक रेवानले बिहीबार आयोजित पत्रकार भेटघाटमा जानकारी दियो।
रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलका अनुसार महोत्सवले स्थानीय जातीय संस्कृति, परम्परागत भेषभूषा, स्थानीय उत्पादन र हस्तकला प्रचार–प्रसारमा महत्वपूर्ण भूमिका खेलेको छ। “सडक महोत्सव आर्थिक गतिविधि सक्रिय पार्ने, रोजगारी सिर्जना गर्ने र विदेशी मुद्रा आर्जन बढाउने प्रमुख माध्यम बनिरहेको छ,” पौडेलले बताए।
यस वर्षको कार्यक्रमबारे जानकारी दिँदै रेवानका महासचिव बिरेन्द्र शेरचनले महोत्सवमा विभिन्न जातीय संस्कृतिका झाँकी प्रदर्शन, मौलिक भेषभूषा प्रदर्शनी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खाना स्टल, लाइभ कन्सर्ट, बोट रेस, वेटर रेस, टग अफ वार, मःम र ससेज खाने प्रतियोगिता, सचेतनामूलक सडक नाटक, सेल्फी–फोटो बूथ लगायत आकर्षक गतिविधि समावेश गरिएको बताए।
त्यस्तै, पोखरासहित आसपासका क्षेत्रमा उत्पादन हुने हस्तकला, चित्रकला, मूर्तिकला तथा कृषि उत्पादलाई विशेष प्राथमिकतासहित प्रदर्शनी गराइनेछ। पोखराका साहसिक पर्यटन गतिविधिको डकुमेन्टरी प्रदर्शन तथा प्रमुख पर्यटन गन्तव्यको प्रचार–प्रसारसमेत महोत्सवको मुख्य आकर्षण हुने जनाइएको छ।
कार्यक्रमका मूल संयोजक बसन्त गौतमले परिवर्तित समयअनुसार महोत्सवलाई अझ आधुनिक र आकर्षक बनाउने उद्देश्यले सरोकारवालासँग निरन्तर सुझाव संकलन भइरहेको बताए। उनका अनुसार महोत्सवका प्रवद्र्धकका रूपमा नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार, पोखरा भ्रमण वर्ष २०२५ तथा पोखरा पर्यटन परिषद लगायतका संस्थाहरू रहेका छन्।
महोत्सवको मुख्य प्रायोजकमा गोर्खा ब्रुअरी, सह–प्रायोजकमा बोटलर्स नेपाल (तराई) र दि नेपाल डिस्टिलरी प्रालि रहेका छन्।
होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले सडक महोत्सव रेवानले आयोजना गरे पनि यो पोखराका सबै व्यवसायी र नागरिकको साझा महोत्सव बनेको बताए। कार्यक्रममा रेवान पोखराका निवर्तमान अध्यक्ष नरेश भट्टराई, पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, कास्की अध्यक्ष माधव बराललगायतले पनि आफ्नो भनाइ राखेका थिए।






