भोलीदेखि पोखरामा भव्य व्यापार मेला सुरु, तयारी सम्पन्न — प्रविधिदेखि उद्योगसम्म एकै छानामुनि

-


     तुलसी राम सुवेदी    
     मंसिर १७ गते २०८२ मा प्रकाशित


१६ मंसिर, पोखरा
पोखरा प्रदर्शनी केन्द्र, नयाँबजारमा मंसिर १७ गतेदेखि ‘नेपाल मणिपाल अस्पताल ३४औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३औं क्यान इन्फोटेक २०८२, पोखरा’ सुरु हुँदैछ । आयोजक पोखरा उद्योग वाणिज्य संघका अनुसार मेलाका सबै तयारी सकिएको छ। मेलाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बुधवार गर्ने कार्यक्रम छ ।
संघका अध्यक्ष गोकर्ण कार्कीले जेन–जी आन्दोलनका क्रममा निजी क्षेत्रमाथि भएका गतिविधिबाट प्रभावित व्यवसायिक वातावरणलाई पुनः सामान्य अवस्थामा फर्काउनु मेलाको प्रमुख उद्देश्य रहेको बताए।
उनका अनुसार मेला “लगानीको संवद्र्धन र उद्योग–व्यवसायको प्रवद्र्धन” भन्ने मूल मान्यता बोकेर अघि बढ्नेछ र उद्योगी–व्यवसायीको मनोबल बढाउन महत्वपूर्ण योगदान पु¥याउनेछ।
अध्यक्ष कार्कीले मंसिर १७ देखि २१ गतेसम्म सञ्चालन हुने मेलामा सूचना प्रविधिका नवीनतम उत्पादन, घरायसी सामग्री, स्वदेशी हस्तकला, महिला उद्यमीका उत्पादन, अटोमोबाइल, तथा औद्योगिक वस्तुहरु प्रदर्शनीमा राखिने जानकारी दिए।
त्यस्तै, उद्यमशीलता र व्यवसायिक वातावरण सुदृढ बनाउन मेलास्थलमै कृषि, पर्यटन र आर्थिक नीति सम्बन्धी बहसमूलक कार्यक्रमहरू पनि सञ्चालन गरिनेछ।
२०४२ सालदेखि निरन्तर आयोजना हुँदै आएको यो मेला यसपटक पोखरामै रहेको नेपाल मणिपाल अस्पतालको सहयोगमा आयोजन हुँदैछ।
कार्कीका अनुसार यो सहकार्यले पोखराको पहिचानलाई शिक्षा, स्वास्थ्य, पर्यटन र कृषि क्षेत्रसम्म विस्तार गर्ने संघको लक्ष्यलाई थप मजबुत बनाएको छ।
उनले पोखरा स्वास्थ्य–पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएको र मणिपालसँगको सहकार्यले यस धारणा अझ प्रमाणित भएको बताए।
मेलामा क्यान महासंघ कास्की सह–आयोजकको रूपमा रहेको छ । नेपाल उद्योग वाणिज्य महासंघ तथा गण्डकी प्रदेश संरक्षकका रूपमा छ भने पोखरा महानगरपालिका मुख्य प्रवद्र्धक बनेको छ। गण्डकी प्रदेश सरकार र नेपाल पर्यटन बोर्ड प्रवद्र्धकका रूपमा रहेकाछन्। त्यसैगरी ग्लोबल आइएमई बैंक सह–प्रायोजकका रूपमा सहभागी छ।
मेलामा विभिन्न क्षेत्रका प्रतिष्ठित ब्रान्ड—टुवर्ग बियर, सोल्टी पानी, पोखरा इन्टरनेट, कुमारी गोल्ड चक्की आँटा, बाग्मती प्लास्टिक, युनाइटेड अजोड इन्स्योरेन्स, मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक, माछापुच्छ« बैंक, मंगलम् पाइप, नेपाल टेलिकम, रेडबुल, डाबर नेपाल, फिस्टेल ड्रिम पार्क, ग्रीन डेभलपमेण्ट बैंक, माउण्ट कैलाश रिसोर्ट, होटल दीपसागर लगायत—विभिन्न विधामा सहयोगी बनेका छन्।
पत्रकार सम्मेलनमा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा नेपाल मणिपाल अस्पतालका लियाजन अफिसर कृष्णमोहन श्रेष्ठले नेपालको पुरानो संस्थागत मेला र मणिपाल अस्पतालबीचको सहकार्यले पोखरालाई स्वास्थ्य सेवा केन्द्रका रूपमा उभ्याउने विश्वास व्यक्त गरे।
क्यान महासंघ कास्कीका अध्यक्ष पुरुषोत्तम कुँवरले मेलाले नयाँ पुस्ताको आवश्यकता सम्बोधन गर्ने र सूचना प्रविधिमा भएका ताजा प्रविधि तथा नवप्रवर्तन प्रत्यक्ष अवलोकन गर्ने अवसर उपलब्ध गराउने बताए।
संघकी महासचिव शोभा गौतमले मेला उद्योग, पर्यटन र उपभोक्ताबीच प्रत्यक्ष अन्तरक्रिया गराउने क्षेत्रकै ठूलो उत्सव भएको बताइन् ।
उनका अनुसार मेलाले पोखरेली मौलिक संस्कृति तथा पहिचान पनि विशेष रूपमा प्रस्तुत गर्नेछ।