
२०८२ असोज १२, पोखरा
दसैं नजिकिँदै जाँदा हिमाली क्षेत्रका च्याङ्ग्राले पहाडदेखि तराईका मुख्य बजारसम्म चहलपहल ल्याएको छ। मुस्ताङ र डोल्पाका उच्च भू–भागमा हुर्किएका च्याङ्ग्रा व्यापारीहरूले म्याग्दी, बागलुङ, पर्वत हुँदै पोखरा भित्र्याइरहेका छन् भने कतिपय व्यापारीहरूले चितवन र बुटवलसम्म पुर्याउने गरेका छन्।
हाल पोखराको बगर, हरिचोकदेखि हेम्जा फेदीसम्म सडक छेउछाउ च्याङ्ग्राका बथानहरूले भरिभराउ बनेको छ । ग्राहकहरू सडकमै पुगेर च्याङ्ग्रा खरिद गर्ने क्रम तीव्र बनेको छ।
व्यापारीहरूका अनुसार हिमाली च्याङ्ग्रा स्वादिलो मात्र नभई औषधीय गुणयुक्त पनि हुने भएकाले यसको माग उच्च रहन्छ। मुस्ताङ र डोल्पाबाट खरिद गरिएका च्याङ्ग्रा तराईका बजारमा पुग्दा मूल्य अझ बढ्ने गरेको छ। कतिपय व्यापारीहरू मुस्ताङमै पुगेर ट्रकमार्फत काठमाडौँ, पोखरा, चितवन र बुटवलसम्म ढुवानी गर्ने गर्छन्।
च्याङ्ग्रापालक किसानहरू भन्छन्, “मुस्ताङबाट चार दिन पैदल हिँड्दा मात्र पोखरा पुगिन्छ। व्यापारीहरू गोठमै आइपुगेर खरिद गर्छन्, तर तराईसम्म ल्याउँदा मूल्य थपिने गर्छ।” व्यापारीहरूले गोठमै खरिद गर्दा तुलनात्मक रूपमा सस्तोमा पाइन्छ, तर बजारसम्म ल्याउँदा ढुवानी खर्च, बाटो खर्च र अन्य व्ययका कारण मूल्य बढ्ने गरेको छ।
हिमाली क्षेत्रमा जडीबुटीयुक्त घाँस खाएर हुर्किएका च्याङ्ग्रा उपभोक्ताको पहिलो रोजाइमा पर्छन्। कम्तीमा पाँच वर्ष पुगेका च्याङ्ग्राको मासु स्वादिलो मानिन्छ। सुरुमा ४२–४५ हजार रुपैयाँमा बिक्री भएको च्याङ्ग्रा हाल पोखरामा ३५–३६ हजारमा खरिद–बिक्री भइरहेको व्यापारीहरू बताउँछन् ।
यससँगै डोल्पा, मुगु र जुम्लाबाट पनि बेनी–जोमसोम–कोरला सडकमार्ग हुँदै च्याङ्ग्रा देशका ठूला सहरमा आपूर्ति हुँदै आएको छ। तिब्बतबाट समेत भेडाच्याङ्ग्रा भित्रिने गरेको व्यापारीहरूले जनाएका छन्।
यस वर्ष बागलुङका किसानहरूले पनि भेडा र खसी बजारमा झारेका छन्। तमानखोला, ढोरपाटन र निसीखोलाका किसानहरूले गोठबाट झारेका भेडा पोखरा, बुटवल लगायतका बजारमा आपूर्ति गर्दैछन्। कतिपय किसानहरूले बुर्तिबाङ, खर्बाङ, गुल्मी, पाल्पा हुँदै तराईसम्म बिक्रीका लागि पुर्याएका छन्।
दसैंलाई लक्षित गर्दै बजारमा हिमाली च्याङ्ग्रा, भेडा र खसीको चहलपहलले उपभोक्तामाझ उत्साह थपेको देखिन्छ।






