सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार ः मन्त्रिपरिषद् नौ सदस्यीय बन्यो, आइतबार थप पाँच जना मन्त्री नियुक्त

-


     केन्द्रीय आवाज    
     असाेज ६ गते २०८२ मा प्रकाशित


काठमाडौँ, २०८२ असोज ६
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको वर्तमान अन्तरिम सरकारले आइतबार थप पाँच जना मन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्को संरचना नौ सदस्यीय पुगेको छ। नयाँ नियुक्त मन्त्रीहरूले आज एक कार्यक्रमका बिच शपथ ग्रहण सम्पन्न भएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पत्रकार जगदीश खरेललाई दिइएको छ । लामो समयदेखि टेलिभिजन पत्रकारितामा सक्रिय खरेल हालसम्म इमेज टिभीका समाचार प्रमुख थिए । पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गरेका खरेल हाल अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा विद्यावारिधी अध्ययनरत छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको नेतृत्व राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले गर्ने भएका छन् । आविष्कार र नवप्रवर्तनका क्षेत्रमा दीर्घ योगदान दिँदै आएका पुनलाई प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी संगीता कौशल मिश्राले सम्हाल्ने भएकी छन्। स्वास्थ्य मन्त्रालयमा लामो अनुभव जुटाएकी मिश्राले यसअघि स्वास्थ्य सचिव पदको प्रतिस्पर्धा गरेकी थिइन्। यसपटक प्रधानमन्त्री कार्कीको सिफारिसमा उनी मन्त्री बनेकी हुन्।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको जिम्मेवारी मदन परियारलाई दिइएको छ। तत्कालीन राज्य पुनर्संरचनाका संयोजकका रूपमा कार्य गरेका परियारलाई पनि प्रधानमन्त्री कार्कीले मन्त्रीका लागि सिफारिस गरेकी थिइन्।
यसैगरी, सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हालाई कानुन मन्त्रालयको नेतृत्व दिइएको छ। कानुनसँगै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण तथा उद्योग, वाणिज्य र आपूर्ति मन्त्रालयको जिम्मेवारी समेत उनलाई तोकिएको छ। २०७३ सालमा न्यायाधीश नियुक्त भएका सिन्हा २०८० सालमा उमेर सीमा पुगेपछि अवकाश भएका थिए।
यसअघि चार सदस्यीय रहेको अन्तरिम मन्त्रिपरिषद् नयाँ नियुक्तीसँगै नौ सदस्यीय बनेको छ।