
पोखरा, भाद्र २९
जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ। प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा मुख्यसचिव एकनारायण अर्यालले औपचारिक जानकारी दिएका हुन्।
उनका अनुसार, आन्दोलनमा संलग्न ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी गरी हालसम्म ७२ जनाको मृत्यु भइसकेको छ। साथै १३४ जना प्रदर्शनकारी र ५७ जना सुरक्षाकर्मी घाइते भएको विवरण सार्वजनिक गरिएको छ।
भदौ २३ गतेदेखि सुरु भएको यो आन्दोलन भ्रष्टाचारविरुद्धको आक्रोश र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोधमा व्यापक रूपमा फैलिएको हो। विभिन्न स्थानमा प्रदर्शन भइरहेका बेला प्रहरीसँगको झडप चर्किँदै गएपछि स्थिति नियन्त्रणभन्दा बाहिरिएको थियो। सो क्रममा आगजनी, तोडफोड तथा भिडन्तका कारण ठूलो मानवीय क्षति भएको बताइन्छ।
मृतक सबैको सनाखत हुन बाँकी रहेकाले मृतक सङ्ख्या अझ बढ्ने आशंका गरिएको छ। स्थानीय प्रशासनका अनुसार आगलागी भएका स्थानहरू सफा गर्ने क्रममा अझै शव फेला पर्न सक्ने सम्भावना छ। आज बिहान मात्र काठमाडौंको चाबहिलस्थित चुच्चेपाटी भाटभटेनी सुपरमार्केटको भग्नावशेषमा ६ वटा शव बरामद भएको छ।
घटनापछि राजधानीसहित मुलुकभर उच्च सतर्कता अपनाइएको छ। सरकारले शान्ति सुरक्षाको व्यवस्था कडाइ गर्न सुरक्षाकर्मी परिचालन बढाएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले जिम्मेवारी ग्रहण गरेको पहिलो दिनमै यस्तो गम्भीर अवस्थाको सामना गर्नुपर्दा सरकार गम्भीर भएको र मृतकको परिवारलाई उचित क्षतिपूर्ति तथा घाइतेको उपचार सुनिश्चित गरिने प्रतिबद्धता जनाएकी छन्।




