
पोखरा, १२ भदौ
पोखरा–२५ स्थित गौरीशंकर बहुमुखी क्याम्पसमा आयोजित विशेष समारोहका बीच नयाँ खानेपानी ट्याङ्की हस्तान्तरण गरिएको छ । लायन्स क्लब अफ पोखरा हेमजाको पहल, लायन्स क्लब अफ पोखरा अन्नपूर्णको संयोजन तथा द रोमजी स्कुल, युकेको सहयोगमा निर्माण सम्पन्न भएको सो ट्याङ्कीको लागत करिब २ लाख ५० हजार रुपैयाँ रहेको छ ।
हस्तान्तरण समारोहका प्रमुख अतिथि लायन्स इन्टरनेशनल ३२५ जे नेपालका प्रथम भाइस गभर्नर एमजेएफ लायन प्रजापति बाँस्तोलाले ट्याङ्की हस्तान्तरण गर्दै लायन्स क्लवले सदैव समाजका आवश्यकता अनुसार काम गर्ने परम्परा स्थापित गरेको उल्लेख गर्नुभयो । उहाँले “जहाँ समस्या हुन्छ, त्यहीँ लायन्स पुग्छ भन्ने कुरालाई यस्ता कामहरूले पुष्टि गरेको बताउनुभयो ।
विशेष अतिथि पोखरा महानगरपालिकाका प्रवक्ता तथा वडा नं. २५ का अध्यक्ष मोतिलाल तिम्सिनाले लायन्स क्लवले शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा निरन्तर योगदान दिँदै आएको उल्लेख गर्दै जनप्रतिनिधि र लायन्सको लक्ष्य एउटै—सामाजिक सेवा—हो भन्ने धारणा व्यक्त गर्नुभयो।
खानेपानी ट्याङ्की निर्माण कार्यक्रमका निर्देशक तथा लायन्स क्लब अफ पोखरा अन्नपूर्णका पूर्व अध्यक्ष सोनाम साङपोले २२ वर्षअघि पोखराका विद्यालयमा गरिएको दिसा परीक्षणमा ७० प्रतिशत विद्यार्थीमा दूषित पानीका कारण स्वास्थ्य समस्या देखिएपछि पानी शुद्धिकरणका लागि ३०० थान यूरोगार्ड वितरण गरिएको स्मरण गर्नुभयो। तर, लोडसेडिङ र मर्मतसम्भारको कमीले ती उपकरण दीर्घकालीन रूपमा उपयोगी नबनेपछि सन् २०१७ देखि स्थायी समाधानस्वरूप खानेपानी ट्याङ्की निर्माण अभियान सुरु भएको र आजसम्म ५४ वटा ट्याङ्की हस्तान्तरण भइसकेको जानकारी दिनुभयो।
कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष देवकृष्ण पौडेलले धन्यवाद ज्ञापन गर्दै लायन्स क्लवप्रति आभार प्रकट गर्नुभयो। यस अवसरमा गौरीशंकर क्याम्पसका प्रमुख कृष्णप्रसाद पौडेल, गण्डकी एरिया चिफ महेश श्रेष्ठ, जोन–९ का जोन चेयरपर्सन तिर्थ श्रेष्ठ, वडा सदस्य कृष्णबहादुर कुँवर, रिजन चेयरपर्सन दिनेश तुलाचनलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
लायन्स क्लब अफ पोखरा हेमजाका अध्यक्ष दुर्गाप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य प्रथम उपाध्यक्ष सुरेश श्रेष्ठले गर्नुभयो । राष्ट्रिय झण्डा अभिवादन निवर्तमान अध्यक्ष सन्तमान श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव कृष्णमान श्रेष्ठले गर्नुभएको थियो।





