पोखराका फोटोपत्रकारले ‘विश्व फोटोग्राफी दिवस’ भब्य रुपमा मनाए ।

-


     केन्द्रीय आवाज    
     भाद्र ३ गते २०८२ मा प्रकाशित


३ भाद्र, पोखरा
नेपाल फोटो पत्रकार संघ, कास्कीले १८६औं ‘विश्व फोटोग्राफी दिवस’ विभिन्न कार्यक्रमसहित मनाएको छ । यस अवसरमा मादी गाउँपालिका–५, सुनपदेलीमा शुभकामना आदान–प्रदान, बधाई कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रमका क्रममा संघका अध्यक्ष राम गुरुङलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीले प्रदान गर्ने कञ्चन पत्रकारिता पुरस्कार प्राप्त गरेकोमा बधाई दिइएको थियो ।
संघका सल्लाहकार तथा पूर्वअध्यक्ष कृष्णमणि बरालले फोटो पत्रकारितामा रचनात्मकता र उत्कृष्टताले मात्र सफलता दिलाउने उल्लेख गर्दै चुनौतीलाई अवसरमा बदल्दै अघि बढ्नुपर्ने सुझाव दिए । त्यस्तै, अर्का सल्लाहकार तथा पूर्वअध्यक्ष इन्द्रप्रसाद पौडेलले फोटोग्राफीको गहिरो ज्ञान बिना फोटो पत्रकार बन्न नसकिने बताउदैै यस क्षेत्रमा लाग्न इच्छुकले अनिवार्य रूपमा तालिम लिनुपर्ने कुरामा जोड दिए।
संघकी उपाध्यक्ष एवं नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सदस्य राधिका कंडेलले फोटोग्राफी क्षेत्रमा अवसरसँगै चुनौती पनि उत्तिकै रहेको बताइन्। निवर्तमान अध्यक्ष दुर्गा पौडेलले ‘विश्व फोटोग्राफी दिवसले विश्वभरका फोटोग्राफर र फोटो पत्रकारलाई एउटै सूत्रमा बाँध्ने काम गर्ने’ उल्लेख गरे।
अध्यक्ष राम गुरुङले फोटो पत्रकारिताको मूल्य र महत्वलाई जोड दिँदै, “एक पटक खिचिएको फोटो सदैव अमर रहन्छ,” भन्दै आगामी दिनमा संघले फोटो पत्रकारको हितमा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।