जोखिम न्यूनीकरणका लागि विपी राजमार्ग साउनभर राति बन्द, काभ्रे–सिन्धुली खण्डमा विशेष सतर्कता

-


     केन्द्रीय आवाज    
     श्रावण २ गते २०८२ मा प्रकाशित


२०८२ साउन १, धुलिखेल
लगातार सक्रिय मनसुन र बढ्दो बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै काभ्रेपलाञ्चोक खण्डअन्तर्गतको विपी राजमार्गमा आजदेखि एक महिनासम्म रातिको समयमा सवारी आवागमनमा पूर्णरूपमा रोक लगाइएको छ।
धुलिखेलस्थित जिल्ला प्रशासन कार्यालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै साउन १ गतेदेखि ३१ गतेसम्म प्रत्येक साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको नेपालथोक सीमासम्मको १२ घण्टाको अवधिमा यातायात सञ्चालनमा निषेधाज्ञा लागू हुने जानकारी दिएको हो।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार, मनसुनजन्य सम्भावित विपद् न्यूनीकरण र सर्वसाधारणको सुरक्षालाई सर्वोपरि राख्दै यस्तो निर्णय लिइएको हो। उनका अनुसार काठमाडौँबाट पूर्वतर्फ जाने सवारीसाधनलाई काभ्रेभञ्ज्याङमै रोकिनेछ भने पूर्वबाट राजधानी फर्कने सवारीलाई नेपालथोकमै नियन्त्रण गरिनेछ।
पहिरोले प्रभावित सडक सञ्जाल, अस्थायी व्यवस्था जारी
अघिल्लो वर्ष असोज महिनामा आएको विनाशकारी बाढीपहिरोले विपी राजमार्ग अन्तर्गत काभ्रे–सिन्धुली खण्डको चौकीडाँडादेखि वर्षेखोलासम्म झन्डै ८ किलोमिटर सडक नै बगाएको थियो। त्यसयता कतै एकतर्फी, कतै दुईतर्फी सवारी सञ्चालन हुने गरी अस्थायी सडक बनाइएको भए पनि जोखिम अझै कायमै रहेको प्रशासनले जनाएको छ।
विगत एक हप्तामा मात्र चार पटकजति काभ्रेपलाञ्चोक खण्डमा सडक अवरुद्ध भइसकेको पुष्टि प्रशासनले गरेको छ। मनसुनको अवशान नहुँदासम्म थप क्षति हुनसक्ने सम्भावनालाई दृष्टिगत गर्दै यो निर्णय गरिएको जनाइएको छ।
पूर्वाधार स्थायीत्वका लागि चार चरणमा पुनर्निर्माण योजना
विपद् पुनःस्थापना र पूर्वाधारको दीर्घकालीन संरक्षणका लागि सरकारले विपी राजमार्गलाई चार खण्डमा विभाजन गरी पुनर्निर्माणको प्रक्रिया अगाडि बढाइसकेको छ। हाल १६० किलोमिटर लामो यो राजमार्गको करिब ८४ किलोमिटर सडकखण्ड, विशेषगरी सिन्धुलीको खुर्कोटदेखि काभ्रेको धुलिखेलसम्मको क्षेत्रमा, बाढीपहिरोबाट गम्भीर रूपमा प्रभावित छ।
पूर्वी नेपालसँग राजधानी काठमाडौँलाई जोड्ने छोटो र प्रमुख वैकल्पिक मार्गका रूपमा रहेको यस राजमार्गमा दैनिक हजारौं सवारीसाधनको आवागमन हुने गरेको छ। यस मार्गमा हुने सवारी अवरोधले स्थानीयदेखि लामो दूरीका यात्रु तथा मालवाहक गाडीहरूसम्म प्रत्यक्ष असर पार्ने देखिन्छ।
प्रशासनले नागरिकलाई आवश्यक यात्रा योजना सुरक्षाका मापदण्डमा आधारित भएर बनाउन अनुरोध गरेको छ।