
असार १२, तनहुँ
तनहुँ जिल्लाको सदरमुकाम दमौलीमा खानेपानी अभाव चुलिँदै गएको छ। व्यास–४ मा रहेको दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको वितरण प्रणाली अवरुद्ध भएपछि स्थानीयवासीलाई पानीको चरम अभाव भएको हो ।
व्यास–२ र ३ का बासिन्दा अमरापुरीस्थित प्रेम कुवा, पानी घट्टा र पञ्चमन्दिर जस्ता वैकल्पिक स्रोतमा भर पर्न बाध्य छन्। एक गाग्री पानीका लागि बिहानैदेखि लामबद्ध हुनुपरेको स्थानीयको गुनासो छ। धाराबाट पानी आउन छाडेपछि सर्वसाधारण सार्वजनिक कुवा र धारातर्फ धाउँन बाध्य छन्।
मंगलबार साँझदेखि पानी वितरण बन्द भएपछि कुवा र धारामा भीड बढेको छ। एक स्थानीय बासिन्दाका अनुसार, “बुधबार साँझ ९ बजेसम्म पनि सयभन्दा बढी व्यक्ति पानीका लागि लाइनमा थिए।“
दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष बुद्धिमान श्रेष्ठले पाइपलाइन स्थानान्तरणको कारण आपूर्ति अवरुद्ध भएको जानकारी दिए। “मुग्लिन–पोखरा सडक विस्तारका क्रममा अस्थायी पाइप हटाएर स्थायी जिआइ पाइप जडानको काम भइरहेको छ,” उनले भने, “बिहान सबेरैदेखि राति १० बजेसम्म काम भइरहेको छ। पाइप जडान र क्रङ्क्रिट सकिएपछि मात्र पानी आपूर्ति सुचारु हुनेछ।”
स्थानीयवासी भने चाँडो समस्याको समाधान होस् भन्ने अपेक्षामा छन्।






