अत्यधिक गर्मीले अण्डा उत्पादन घट्यो, मूल्य बढ्यो

-


     केन्द्रीय आवाज    
     असार ११ गते २०८२ मा प्रकाशित


चितवन, असार ११
चितवनमा पछिल्ला दिनमा अत्यधिक गर्मी बढेसँगै अण्डाको उत्पादनमा उल्लेख्य गिरावट आएको छ, जसका कारण बजारमा अण्डाको मूल्य वृद्धि भएको छ । विगतको तुलनामा करिब २५ प्रतिशत उत्पादन घटेपछि माग उच्च भएको र त्यसले मूल्य बढाएको व्यवसायीहरू बताउँछन् ।
नेपाल लेयर्स कुखुरापालक सङ्घले जनाए अनुसार उत्पादन घट्दा बजारमा माग धान्न कठिन भइरहेको छ । सङ्घले आज (असार ११) बाट लागू हुने गरी समर्थन मूल्य निर्धारण गरेको छ ।
नयाँ समर्थन मूल्यअनुसार चितवनमा फार्म स्तरमा ठूलो साइजको अण्डाको प्रतिकरेट मूल्य रु ४८० र मझौला साइजको रु ४५० कायम गरिएको छ। दुवैमा प्रतिकरेट रु ३० ले वृद्धि गरिएको हो।
होलसेल मूल्यमा सात क्रेट (एक कार्टुन)को दरमा ठूलो साइजको अण्डा रु ३,५४० र मझौला साइजको रु ३,३३० मा बिक्री भइरहेको सङ्घले जनाएकोछ । सङ्घका अनुसार चार महिना अघिसम्म दैनिक ४० हजार कार्टुन अण्डा उत्पादन हुँदै आएकोमा अहिले घटेर २८ देखि ३० हजारमा झरेको छ ।
गर्मीमा दाना महँगिएको, अण्डाको मूल्य घट्दा किसानलाई घाटा भएको र धेरै किसानले माउ कुखुरा नै बिक्री गरेका कारण पनि उत्पादन घटन गएको जनाईएको छ ।
अण्डाको उत्पादन लागत प्रतिगोटा औसत रु १६.५६ रहेको छ । विगत वर्ष अण्डाको प्रतिकरेट मूल्य रु ५२५ सम्म पुगेको थियो, जुन पछि घटेर रु ३५० मा झरेको थियो । मूल्य घटेसँगै धेरै किसान विस्थापित भएको र अहिले नयाँ चल्ला राख्न नसकेको स्थिति देखिएको छ ।