पोखराको पल टासी छयोलिङ गुम्बा बिद्यालयलाई स्टेसनरी सामाग्री हस्तान्तरण ।

-


     तुलसी राम सुवेदी,    
     जेठ २४ गते २०८२ मा प्रकाशित


पोखरा २३ जेठ २०८२
पोखराको पल टासी छयोलिङ गुम्बा विद्यालयमा अध्ययनरत बिद्यार्थीहरूलाई पोखरा महानगरपालिका वडा नम्बर १० द्वारा स्टेशनरी सामग्री हस्तान्तरण गरिएको छ । एक विशेष कार्यक्रमका बीच हस्तान्तरण गरिएको सो सहयोगले गुम्बामा अध्ययनरत दुर्गम क्षेत्रका एक सय बिद्यार्थीहरूलाई प्रत्यक्ष फाइदा पुर्याउने अपेक्षा गरिएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर १० ले रु. ५० हजार बराबरको स्टेशनरी सामग्री पोखरा १० रामघाटमा अवस्थित पलटासी छयोलिङ गुम्बा द्धारा सञ्चालित पलटासी छयोलिङ गुम्बा विद्यालयमा अध्ययनरत बिद्यार्थीहरूलाई हस्तान्तरण गरेको हो । गुम्बाले दुर्गम क्षेत्रबाट आएका सय जना बिद्यार्थीहरूलाई निःशुल्क आवास र शिक्षा दिइँदै आएको छ ।
दाताहरूको सहयोगमा हामीले शिक्षा प्रदान गर्दै आएका थियौं, तर अहिले वडा कार्यालय आफैंले सहयोग लिएर आउँदा हामीलाई धेरै हर्ष लागेको पलटासी छयोलिङ गुम्बा विद्यालयका संस्थापक गोपाल लामाले बताउदै खुशी ब्यक्त गरे ।
विद्यालयका संस्थापक तथा लामागुरु गोपाल लामाले आफ्ना बिद्यार्थीहरूलाई नेपाल सरकारद्वारा तोकिएको पाठ्यक्रमका साथै बौद्ध शिक्षामा पनि ध्यान दिइरहेका छन ।
म जब गुम्बामा पुगेँ, गोपाल लामाले जुन जिम्मेवारीका साथ बिद्यार्थीहरूको हेरचाह गरिरहनुभएको देख्दा मैले वडा कार्यालयको तर्फबाट केही सहयोग गर्नुपर्छ भन्ने महसुस गरेको र वडा कार्यालयले गर्न सक्ने सहयोग यस बिधालयलाई गरिएको र आगामी दिनमा पनि यस किसिमका सहयोगलाई निरन्तरता दिने पोखरा महानगरपालिका वडा नं १० का अध्यक्ष राजेश गुरुङले जनाए ।
वडाले विगतदेखि नै सामुदायिक विद्यालयहरूमा अध्ययनरत न्यून आय भएका बिद्यार्थीहरूलाई स्टेशनरी वितरण गर्दै आएको छ । यसपटक पलटासी छयोलिङ गुम्बा पनि सूचीमा थपिएको हो । यस अघि पोखरा १० अन्र्तगतका कालिका मा.बि र कुंडहर आधारभुत बिधालयलाइ स्टेशनरी वितरण गरिदै आएकोमा यस बर्ष देखि पलटासी छयोलिङ गुम्बा विद्यालय थप भएको वडा नं १० वडा सचिब शिवहरी शर्मा ले बताए ।
हाम्रो धर्मगुरु गोपाल लामाले हामीलाई बाबुआमा जस्तै व्यवहार गर्नुहुन्छ, पढाइ पनि राम्रो गराउनुहुन्छ । अहिले वडाको तर्फबाट स्टेसनरी सामाग्री सहयोग पाउदा धेरै खुसी भएको पलटासी छयोलिङ गुम्बा विद्यालय मा अध्ययनरत बिधार्थीहरु बताउंछन।
धर्म, संस्कृतिको संरक्षणसँगै गुणस्तरीय शिक्षाको उदाहरण बनेको यो विद्यालयबाट अन्य सामुदायिक विद्यालयहरूले पनि प्रेरणा लिन जरुरी देखिन्छ ।