
२० जेठ,कास्की
अन्नपूर्ण गाउँपालिका–१०÷११ मा अन्नपूर्ण आरोहण दिवसको अवसरमा आयोजित पाँचौं अन्नपूर्ण म्याराथन सम्पन्न भएको छ । अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिद्वारा आयोजित यो म्याराथन समुद्री सतहबाट ४,१३० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविर बाट सुरु भई पर्यटकीय गाउँ घान्द्रुकमा समापन भएको हो।
पुरुषतर्फ नेपाली सेनाका तिलक बहादुर सुनुवारले ४ घण्टा २४ मिनेट ४ सेकेन्डमा म्याराथन दूरी पार गर्दै च्याम्पियन बने र नगद १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। सेनाकै होमलाल श्रेष्ठ दोस्रो स्थानमा रहे, उनले ४ घण्टा ३० मिनेट ४८ सेकेन्डमा दूरी पार गर्दै १ लाख रुपैयाँ जिते। तेस्रो स्थानमा दलबहादुर कुँवरले ४ घण्टा ३३ मिनेट २१ सेकेन्डमा दूरी पुरा गर्दै ५० हजार प्राप्त गरे। स्थानीय धावक सचिन गुरुङले ४ घण्टा ३६ मिनेट ३ सेकेन्डमा दूरी पुरा गर्दै सान्त्वना स्थान प्राप्त गर्दै ३० हजार नगद हात पारे।
महिलातर्फ सुनमाया बुढाले ४ घण्टा ४१ मिनेट २५ सेकेन्डमा दूरी पार गर्दै उपाधि हात पारिन्। उनले १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन्। दोस्रो स्थानमा रहेकी राममाया बुढाले ४ घण्टा ५० मिनेट २४ सेकेन्डमा दूरी पूरा गर्दै १ लाख रुपैयाँ जितिन् भने कल्पना बुढाले ५ घण्टा २ मिनेट ४० सेकेन्डमा म्याराथन समापन गर्दै ७५ हजार नगद पुरस्कार प्राप्त गरिन्।
‘सबै मौसमका लागि पर्यटन’ भन्ने नारासहित भएको यो प्रतिस्पर्धात्मक दौड माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, हिमालय, दोभान, बम्बो, सिनुवा, भनुवा, छोम्रोङ, ताउलु घुर्जुङ, चुइले, मेलाँचे, कोम्रोङडाँडा, किम्रोङखोला, उरी हुँदै घान्द्रुकमा सम्पन्न भएको थियो।
स्थानीय पर्यटन प्रवद्र्धन, साहसिक खेलको प्रोत्साहन र विश्वभर अन्नपूर्ण क्षेत्रको पर्यटन सम्भावना उजागर गर्ने उद्देश्यले आयोजना गरिँदै आएको म्याराथनमा नेपाली सेनासहित विभिन्न क्षेत्रका धावकहरूको उल्लेखनीय सहभागिता देखिएको आयोजकले जनाएको छ।






