प्रतिगमनको कुचेष्टा सह्य नहुने ः प्रधानमन्त्री ओली

-


     तुलसी राम सुवेदी     
     जेठ १० गते २०८२ मा प्रकाशित


९ जेष्ठ ,पोखरा ,

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको हक, अधिकार र मुलुकको स्वाधीनता जोगाउँदै सबै खाले प्रतिगमन रोक्न एमाले सधैं अग्रपंक्तिमा रहने बताएका छन् ।

राष्ट्रिय युवा संघ नेपालको १०औं राष्ट्रिय महाधिवेशनको उद्घाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्दे उनले जनताको कुण्डलीमा राजतन्त्र फर्कने कुनै सम्भावना नभएको बताए । साथै उनले राजा र राजावादीहरुलाई यस्ता दिवा सपना नदेख्न आग्रह गरे । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति जगमान गुरुङले पूर्वराजा ज्ञानेन्द्र शाहको कुण्डली हेरेर राजतन्त्र फर्कने हल्ला फैलाएको उल्लेख गर्दै उनले पूर्व राजाको कुण्डली होईन मेरो कुण्डली पनि हेरे हुन्छ भन्ने बताए । नेपाली जनताले फालिसकेको राजतन्त्र अब कुनै हालतमा पनि फर्कन नसक्ने उनले बताए । राजतन्त्रका विरुद्ध लडेका हामी यस देशमा अझै रहेको बताउदै प्रतिगमनका त्यस्ता सपना नदेख्न म आग्रह गरे ।

‘प्रधानमन्त्रीलाई भाग्न हेलिकोप्टरको सुविधा दिने जस्ता उत्ताउलो कुरा पनि उनले गरे । साथै कुनै पनि प्रतिगमनको कुचेष्टालाई धुलो पिठो बनाउने बताउदै उनले यस्ता प्रयास रोक्न अग्रभागमा युवा संघ आउनु पर्ने बताए ।
साथै उनले एमालेमाथि आन्तरिक र बाह्य पक्षहरू तथा विरोधीहरूको केन्द्रीकृत र चौतर्फी आक्रमण गरिरहेको समेत बताए । एमालेले गल्ती गरेको भए अहिले हामी जुन ठाउँमा छौँ, त्यस ठाउँमा आउन नदिने उनले बताए ।

ओलीले एमालेका योगदान बिर्साउने प्रयास भएको टिप्पणी गर्दै नेतृत्वमाथि झूठा आरोप र लाञ्छना लगाइएको भन्दै यस्ता भ्रम चिर्न देशभक्त र एमालेहरू एकजुट हुनुपर्ने बताए। उनले राजनीति नबुझेका व्यक्तिको हातमा सत्ता जाँदा मुलुकमा अस्थिरता आएको उल्लेख गर्दै स्थिरता र सुशासनका लागि एमाले र कांग्रेसको सरकार बनेको बताए। उनले सरकार ढल्यो भनेर कराउनेहरूलाई अबको १४ महिनापछि आफुले राजीनामा दिएर कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने र निर्वाचनमा जाने स्पष्ट पारेका छन्।
भ्रष्टाचारविरुद्ध कसैको अनुहार नहेरी शून्य सहनशीलताका साथ काम भइरहेको उनले बताए। युवा संघको महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह गर्दै उनले नेतृत्वमा नअटेकाहरूको व्यवस्थापन हुने भएकाले लुछाचुँडी नगर्न र सहमति नभए स्वच्छ प्रतिस्पर्धा गर्न समेत उनले सुझाए।
कार्यक्रममा एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव पद्मा अर्याल, जनसंगठन संयन्त्रका संयोजक भानुभक्त ढकाल, नेताहरू महेश बस्नेत, राजीव पहारी, निरुदेवी पाल, किरण पौडेल लगायतको उपस्थित थियो ।