अन्नपूर्ण म्याराथन–२०८२ को पाँचौं संस्करण जेठ २० मा आयोजना हुँदै

-


     केन्द्रीय आवाज    
     जेठ ३ गते २०८२ मा प्रकाशित


तुलसी राम सुबेदि , २ जेठ , पोखरा ।
अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण आरोहण दिवस (जुन ३) को अवसरमा आयोजना गर्ने ‘अन्नपूर्ण म्याराथन–२०८२’ को पाँचौं संस्करण आगामी जेठ २० गते मंगलबार हुने भएको छ।
अन्नपूर्ण आधारशिविर (४,१३० मिटर) बाट सुरु भई घान्द्रुक (श्री मेश्रम बराह मा.वि.को खेल मैदान) सम्म ४२.१९५ किलोमिटरको दूरीमा हुने यो म्याराथनले पर्यटन प्रवद्र्धन र पदयात्रा मार्गको पूर्वाधार विकासमा योगदान पु¥याउने लक्ष्य राखेको छ। सन् १९५० मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमाल (८,०९१ मिटर) को सफल आरोहण गरेको ७५ वर्ष पुगेको अवसरमा यो संस्करणलाई हीरक उत्सवका रूपमा मनाइँदै छ।
म्याराथनमा पुरुष र महिला दुवैतर्फ छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ। हालसम्म १० विदेशी धावकसहित ६० जना धावकले नाम दर्ता गराइसकेका छन्। दर्ता शुल्क ७,००० रुपैयाँ तोकिएको छ भने प्रथम, द्वितीय र तृतीय हुने धावकले क्रमशः १,५०,०००, १,००,००० र ७५,००० रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
यसबाहेक अन्नपूर्ण गाउँपालिका, गण्डकी प्रदेश, लगातार तीनपटक सहभागी महिला धावक र विदेशी धावकका लागि विशेष पुरस्कारको व्यवस्था छ। म्याराथनलाई अन्तर्राष्ट्रिय इभेन्टका रूपमा स्थापित गर्न आयोजक निरन्तर प्रयासरत छन्।
म्याराथनसँगै अन्नपूर्ण पत्रकारिता पुरस्कार वितरण र सांस्कृतिक कार्यक्रमले थप आकर्षण बढाउनेछ। आयोजनाका लागि करिब ३८ लाख रुपैयाँ खर्च हुने अनुमान छ, जुन विभिन्न सरकारी तथा निजी संस्थाहरूको सहयोगबाट जुटाइनेछ।
५०१ सदस्यीय मुख्य व्यवस्थापन समिति र १३ उपसमितिमार्फत ९० प्रतिशत तयारी पूरा भइसकेको छ। समितिका संयोजक ललित गुरुङले म्याराथनलाई सफल बनाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण रहेको भन्दै सहयोगको अपेक्षा गरेका छन्।