लोकतन्त्र केवल शासन प्रणाली मात्र होईन उत्तरदायित्व र समावेशी सहभागिताको आधारशिला पनि हो, मन्त्री थापा

-


     केन्द्रीय आवाज    
     वैशाख १२ गते २०८२ मा प्रकाशित


२०८२ वैशाख १२ पोखरा
१९ औं लोकतन्त्र दिवसको सन्दर्भमा कास्कीमा पोखराका सबै नागरिक संगठन, सामाजिक संघसंस्था, पेशागत संगठनहरुको सहभागितामा ‘लोकतन्त्रको सवाल, चुनौती र सवलीकरण विषयक अन्तक्र्रिया तथा संवाद सम्पन्न भयो ।
गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले लोकतन्त्र केवल शासन प्रणाली मात्र नभएर नागरिक अधिकार, उत्तरदायित्व र समावेशी सहभागिताको आधारशिला भएको बताए ।
उनले सबै सरोकारवाल मिलेर स्वतन्त्रता, समानता र सामाजिक न्यायमा आधारित लोकतान्त्रिक मूल्यहरूको संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । लोकतन्त्रको संरक्षण र सुदृढीकरणमा नागरिक समाजको भूमिका महत्वपूर्ण भूमिका रहेको बताउदै मन्त्रि थापाले उनले सामाजिक उत्तरदायित्व, पारदर्शिता, जवाफदेहिता र सहभागितामूलक शासन प्रणालीमार्फत लोकतान्त्रिक मूल्य र मान्यतालाई अझ सुदृढ बनाउन सकिने बताए । मन्त्री थापाले राज्य र नागरिक समाजबीचको सहकार्य सुदृढ भएको खण्डमा लोकतन्त्रलाई संस्थागत गर्न सहयोग पुग्ने चर्चा गरे ।
कार्यक्रममा नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माले लोकतन्त्रको संस्थागत विकासको लागि नागरिक समाजले सबै दललाई एक ठाउँमा ल्याउन सफल भएको बताए । लोकतान्त्रिक आचरण र शैली व्यवहारमा रुपान्तरण हुन नसकेको उल्लेख गर्दै उनले राज्यको मूल चरित्रलाई बदल्न पर्ने चर्चा गरे । उनले संविधानले व्यवस्था गरेको मौलिक हक कार्यान्वयन नभएमा जनता अदालत जान सक्ने उल्लेख गरे ।
त्यसै गरि गैर सरकारी संस्था महासंघ नेपालका पूर्व अध्यक्ष रामप्रसाद सुवेदीले राजनीतिक दल र नागरिक समाजको साझेदारीले लोकतान्त्रिक पद्धतिको विकास गर्न सकिने धारण राखे । हिन्दु धर्मलाई राजतन्त्रसँग जोडेर भ्रम छर्ने काम भएको आरोप लगाउँदै उनले राजा र धर्मको आडमा राजनीति गर्नेहरु लोकतन्त्रवादी बन्न नसक्ने उनले बताए ।

‘लोकतन्त्रको विकल्प लोकतन्त्र हो’ भन्ने नाराका साथ भएको कार्यक्रममा नेपाल बार एशोसिएसन उच्च अदालत बार इकाईका उपाध्यक्ष गिरीधारी सुवेदीले आधारपत्र पेश गरेका थिए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र कास्कीका संयोजक विश्वप्रकाश लामिछाने, एकीकृत समाजवादी गण्डकी प्रदेशका अध्यक्ष कृष्ण नेपाली, राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका अध्यक्ष शंकर बराल, गणेशमानसिंह फाउन्डेसनका अध्यक्ष दुर्गा तिमिल्सिना, गैसस महासंघ नेपाल गण्डकीका अध्यक्ष गोपाल खड्का, कास्कीका अध्यक्ष इन्दिरा पौडेल, इन्सेक गण्डकी प्रदेशका संयोजक शिव खकुरेल, जन आन्दोलन सहिद परिवार घाइते समन्वय समिति कास्कीका अध्यक्ष शेखर गौतम लगायतले लोकतन्त्र दिवसको बारेमा बोलेका थिए ।