गण्डकीका मन्त्री थापाको तलबभत्ता सामाजिक सेवामा खर्च

-


     केन्द्रीय आवाज    
     चैत्र १८ गते २०८१ मा प्रकाशित


चैत १९ गते पोखरा
गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले राज्यबाट प्राप्त सम्पूर्ण सेवा–सुविधा जनताको हितमा खर्च गर्दै आएका छन् । मंगलबार नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री थापाले आफ्नो पहिलो कार्यकालदेखि नै सेवा–सुविधाको रकम स्थानीय जनताका आवश्यकताअनुसार रचनात्मक कार्यमा लगाउँदै आएको उल्लेख गरे ।
“जनताको प्रतिनिधि भएपछि तिनको आवश्यकतालाई सम्बोधन गर्नु मेरो कर्तव्य हो। मैले पाएको सेवा–सुविधा बापतको रकम सामाजिक कार्यमा खर्च गर्दै आएको छु”, मन्त्री थापाले भने।
मन्त्री थापाका अनुसार २०७४ सालदेखि हालसम्म प्रदेशसभा सचिवालय र मन्त्रालयबाट प्राप्त विभिन्न भत्ता, पारिश्रमिक र सुविधा बापत जम्मा ५८ लाख ५८ हजार ५ सय ४३ रुपैयाँ प्राप्त गरेका छन् । यसै अवधिमा उनले सामाजिक कार्यमा ७९ लाख ४२ हजार ३ सय ९० रुपैयाँ खर्च गरेका छन् ।

मन्त्रीको थापाको बैंकको खातामा २०७४ सालमा निर्वाचित भएको पहिलो वर्षदेखि हालसम्म क्रमशः ७ लाख ९ हजार १ सय ३५ रुपैयाँ, ६ लाख १० हजार ६ सय ३९ रुपैयाँ १० पैसा, ८ लाख ५९ हजार ८ सय ६८ रुपैयाँ, १३ लाख ६६ हजार ३ सय ६० रुपैयाँ २९ पैसा, ५ लाख २५ हजार २ सय ४७ रुपैयाँ, ८ लाख ९६ हजार, ९ लाख ९० हजार ९४ रुपौयाँ गरि जम्मा ५८ लाख ५८ हजार ५ सय ४३ रुपैयाँ जम्मा भएको छ । यसै अवधिमा मन्त्री थापाले सामाजिक कार्यमा पहिलो वर्षदेखि हालसमम्म क्रमशः १० लाख ५४ हजार ६ सय ५५, ९ लाख ३ हजार ७ सय १ रुपैयाँ ५२ पैसा, १२ लाख ४७ हजार ४० रुपैयाँ, १४ लाख ८६ हजार ९ सय ७० रुपैयाँ, ११ लाख ३६ हजार ७ सय रुपैयाँ, ११ लाख १२ हजार रुपैयाँ, १० लाख १ हजार ३२४ रुपैयाँ गरि जम्मा ७९ लाख ४२ हजार ३ सय ९० रुपैयाँ खर्च गरेका छन् ।
उनले सेवा–सुविधाबाट प्राप्त रकम शिक्षाका लागि छात्रवृत्ति, स्वास्थ्य क्षेत्रमा आधारभूत पूर्वाधार निर्माण, खेलकुद प्रवद्र्धन, महिला तथा युवाहरूको सशक्तिकरण, विपन्न परिवारलाई आर्थिक सहयोग जस्ता कार्यमा लगाएको बताए ।
प्रदेश सरकारलाई अझ प्रभावकारी बनाउन संघीय सरकारले आवश्यक कानूनी व्यवस्थासहित आत्मनिर्भर बनाउने पहल गर्नुपर्ने उनको भनाइ छ ।
“प्रदेश सरकारले स्रोत र साधनको सीमितताबीच जनअपेक्षाअनुसार काम गरिरहेको छ । तर, सिंहदरबारको ढिलासुस्तीले योजना कार्यान्वयनमा समस्या देखिएको छ”, उनले भने ।
मन्त्री थापाले हाल सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयबाट ‘फ्राइडे फर फ्युचर’, ‘सिक्दै कमाउँदै’, योग तथा ध्यान कार्यक्रम ‘गण्डकी स्वजागरण’, प्राविधिक शिक्षाको पूर्वाधार निर्माण, महिला तथा युवा सशक्तिकरण कार्यक्रम सञ्चालन भइरहेको जानकारी गराए ।