
माघ १२ गते ,पोखरा
गण्डकी प्रदेशको स्थापना दिवस माघ २२ गते मनाइने भएको छ । यसअघि प्रदेश सभा र प्रदेश सरकारको स्थापना दिवस अलग अलग मनाइने गरिएको थियो भने यस पटक देखि एकै दिन मनाउन लागिएको हो ।
२०७४ माघ २२ गते गण्डकीमा पहिलो संसद् बैठक बसेको भएकाले त्यसै दिनलाई प्रदेश सभाले आफ्नो स्थापना दिवसका रुपमा मनाउँदै आएको थियो भने २०७४ फागुन ४ गते संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सपथ लिएको दिनलाई प्रदेश स्थापना दिवसका रुपमा प्रदेश सरकारले स्थापना दिवस मनाउदै आएको थियो । २०७८ बाट त उक्त दिनमा प्रदेशभर सार्वजनिक बिदा दिन थालिएको थियो भने अहिले सो बिदा कटौती गरिएको छ ।
२०७९ मा प्रदेश सभाको पहिलो कार्यकाल सकिएर दोस्रो कार्यकाल सुरु हुँदा तत्कालीन अवस्थामा विपक्षी दलका नेता रहेका सुरेन्द्रराज पाण्डेले किन अलगअलग कार्यक्रम गरेको भनी प्रश्न गरेका थिए । गत बर्ष भने उनै पाण्डे मुख्यमन्त्री भए पनि अलग अलग कार्यक्रम गरिएको थियो । यसपालि भने मुख्यमन्त्रीकै अग्रसरतामा माघ २२ गते नै गण्डकी प्रदेश दिवस मनाउने निधो गरिएको छ ।
प्रदेश दिवस मनाउने सन्दर्भमा तयारीका लागि शनिबार मुख्यमन्त्री पाण्डेको अध्यक्षतामा बैठक बसेको छ । प्रदेश नीति तथा योजना आयोगको हलमा बसेको बैठकले तयारीका लागि प्रमुख सचिव रघुराम बिष्टको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । समितिमा प्रदेश सभाका सचिव हरिराज पोख्रेल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव बाबुराम गौतम, सामाजिक विकास मन्त्रालयका सचिव नवराज ढकाल र प्रदेश सभा सचिवालयका उपसचिव प्रेम सुवेदी छन् ।
प्रदेश प्रमुख डिल्लीराज भट्टको प्रमुख आतित्थ्यतामा हुने कार्यक्रम प्रदेश सभा सचिवालय परिसरमा गरिने जनाईएको छ ।




