राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु

-


     केन्द्रीय आवाज    
     माघ १० गते २०८१ मा प्रकाशित


२०८१ माघ १०
पोखरामा ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव २०८१ साथै १२ औं क्यान इन्फोटेक २०२५ तथा चौथो मोवाइल एक्सपो २०२५ आज देखि सुरु भएको छ ।

पोखरा उद्योग वाणिज्य संघ आयोजक रहेको मेलाको गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे ।
समुद्घाटन मन्तव्य व्यक्त गर्दै गण्डकीका मुख्यमन्त्री पाण्डेले पोखरा उद्योग वाणिज्य संघले सातवटै प्रदेशको उत्पादन, कला–संस्कृति एवं खानाको प्रदर्शनको सुरुवात गरेकोमा खुसी व्यक्त गरे । उनले मधेशका मुख्यमन्त्रीलाई यही मेलामा स्वागत गर्न तयार रहेको पनि बताए । उनले गण्डकी प्रदेशमा दुईवटा क्षेत्रमा औद्योगिक क्षेत्र खोल्ने भनिए पनि जग्गा प्राप्ति समयमै नहुँदा काम रोकिएको र अब चाहिँ काम अगाडि बढेको जानकारी गराए ।
निजी क्षेत्रसँगको सहकार्य बिना समृद्धि प्राप्त नहुनेमा आफू प्रष्ट रहेको बताउँदै उनले वातावरण निर्माणमा लाग्ने प्रतिवद्धता पनि जनाए । संघीय सरकारले अध्यादेशमार्फत् निजी क्षेत्रलाई सहज हुने गरी वातावरण निर्माण गरेको र त्यसले सिथिल अर्थतन्त्र उकासिने पनि उनको धारणा थियो । उनले मेलाको नाममा स्थानीय जनताको पैसा बाहिर जानु स्थानीयको लागि न्यायोचित नभएको पनि बताए ।
‘कति मान्छे आए,कति आम्दानी भयो भन्नेतिर नलाग्नुहोस् । त्यता लाग्ने हैन । कि मनोरञ्जन मेला भन्नुप¥यो । व्यापार मेला भनेपछि स्थानीय उत्पादनको प्रदर्शन हुनुपर्छ । यहाँ मधेश प्रदेशबाट सांस्कृतिक कार्यक्रम आएको रहेछ । हामीले दुईवटा नाच हे¥यौँ । हाम्रो लागि नयाँ अनुभव भयो । यो हेरेपछि हामीले पनि अन्य प्रदेशमा एउटा स्टल राख्ने, हाम्रा उत्पादन देखाउने, यहाँको संस्कृति देखाउने र पर्यटन प्रवद्र्धन गर्ने काम गरिनुपर्छ । हामी यसमा सहकार्य गर्न चाहन्छौँ,’उनले भने,‘ हाम्रो परम्परागत शैली के छ भने, राष्ट्रिय कलाकार भनेर बाहिरबाट मान्छे बोलायो । पोखरेली जनताको पैसा आएको जति बुझाएर पठाइदियो । पिङ भन्यो, डुंगा दौड भन्यो यताको पैसा उता पठाइदियो । यस्तो हुनुहुँदैन ।’