
२ माघ ,पोखरा
पोखरा वडा नं. १५ मा बृहत् खेलकुद महोत्सव बुधबारदेखि सुरु भएको छ। पोखरा महानगरपालिका वडा नं –१५ द्वारा आयोजित वडास्तरीय चार दिने बृहत् खेलकुद महोत्सव बन विज्ञान क्याम्पसको खेल मैदानमा सुरु भएको हो । यो तेस्रो खेल महोत्सव हो ।
वडावासीहरूको व्यापक सहभागिताका बीच महोत्सवको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले खेलकुदले सम्पूर्णलाई राष्ट्रिय एकतामा ल्याउन मद्दत गर्ने बताए ।
अन्य विषयहरूमा मतभेद रहेपनि, फरक विचार रहेपनि खेलकुदले एकै नियममा बाँध्ने भन्दै मेयर आचार्यले खेलकुदले व्यक्तिगत स्वास्थ्य सँगसँगै समाजलाई पनि सकारात्मक ऊर्जा प्रदान गर्ने बताए ।
पोखराका वडाहरूमध्येमा खेलकुद क्षेत्रमा १५ नम्वर वडाले गरेको नेतृत्व प्रशंसनीय रहेको बताउँदै मेयर आचार्यले सबै उमेर समूहका वडाबासीलाई खेलकुद मार्फत् एकै ठाउँमा ल्याई नमूना कार्य गरेकोमा वडाअध्यक्ष तोरण बहादुर बानियाँ र खेल संयोजक एवं वडा सदस्य आशिष भण्डारीलाई धन्यवाद दिए।
पोखरा वडा नं. ९ का अध्यक्ष दीपेन्द्र मर्सानीले खेलकुद स्थलको अभावले आफूले यस्ता कार्यक्रमहरू गर्न नसकेपनि वडा नं. १५ सँग सहकार्यमा अघि बढ्न सक्ने बताउँदै आफूले हरतरहले साथ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
आयोजक वडाका अध्यक्ष तोरण बहादुर बानियाँले खेलकुद महोत्सवले यहाँस्थित आमा समूह, टोल विकास संस्था र युवा क्लबहरू बीचमा आपसी सहयोग, चिनजान तथा भाइचाराको विकास गरेकाले यसलाई निरन्तरता दिइएको बताए । वडाका नागरिक स्वस्थ भए घरको वातावरण स्वस्थ हुने र स्वस्थ नागरिकले समाज र राष्ट्रका लागि योगदान दिन सक्ने बताए।
बानियाँले विकास सँगसँगै शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुदको आवश्यकता पर्छ भन्ने उद्देश्यले यस महोत्सवलाई निरन्तरता दिइएको र योगामार्फत् वडाबासीलाई स्वस्थ बनाउन टोल टोलमा योग प्रशिक्षक उत्पादन र कक्षा सञ्चालनमा लागिपरेको बताए ।
यस्तै, वडा सदस्य तथा महोत्सव संयोजक आशिष भण्डारीले खेलकुद कार्यक्रम महोत्सवले वडावासी नागरिकमा सामाजिक सद्भावका साथै भावनात्मक एकतालाई प्रगाढ बनाउने विश्वास व्यक्त गरे। उनले स्वास्थ्य सँगसँगै खेलकुद कार्यक्रमले खेलाडीहरू उत्पादन गर्ने र यहाँबाट उत्पादन भएका खेलाडीहरू महानगर, प्रदेश हुँदै राष्ट्रिय स्तरसम्म पुगुन् भन्ने आफूहरूको लक्ष्य रहेको बताए।
वडा कार्यालयदेखि खेलस्थल वन विज्ञान क्याम्पसको चौरसम्म नेपाल प्रहरीको ब्याण्डबाजासहित वडा स्थित आमा समूह, विद्यार्थी, युवाहरूले ¥याली निकालेका थिए । ¥यालीमा जनजागृति महिला समूह र नेपाल भारत मैत्री विद्यालय उत्कृष्ट बन्दै पुरस्कृत भए । समारोहमा सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो।
कार्यक्रममा बन विज्ञान क्याम्पसका प्रमुख विनोद हेजु, आईएनएफ नेपालका कार्यकारी निर्देशक कृष्ण अधिकारी, हिमालयन लाइफ नेपालका अध्यक्ष बुद्धिबल रम्तेल, राइट फर चिल्ड्रेनका परियोजना प्रबन्धक सन्तोष गुरूङले पनि बोलेका थिए ।
वडा अध्यक्ष तोरण बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा महोत्सव संयोजक आशिष भण्डारीले स्वागत र वडा सचिव युवराज पौडेलले कार्यक्रमको सञ्चालन गरेका थिए ।




