
माघ २ म्याग्दी
कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित बेनी बजारको चिनारी गीत सङ्गीत, संस्कृति र प्रकृतिको सुन्दरताबाट स्थापित भएको छ । भौगोलिक भू–वनोटका आधारमा सुन्दर सहरहरूमा पर्ने बेनी बजार यहाँको कला, संस्कृति, परम्परा र गीत सङ्गीतको माध्ययमले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा चिनिएको छ ।
म्याग्दीका कलाकार दम्पती मन छन्त्याल र टीकाबहादुर श्रेष्ठले सिर्जना गर्नुभएको ‘बेनीको बजार जता माया उतै छ नजर किरेमिरे जाले रूमाल’ गीतले बेनी बजारलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा चिनाएको छ । बेनीबजारको चिनारीसँग जोडिएको छ ‘माघे सङ्क्रान्ति मेला’ । बेनीमा परम्परागत रूपमा लाग्दै आएको माघे सङ्क्रान्ति मेलाले बेनीको महिमालाई उजागर गर्छ ।
बेनीमा लाग्ने माघे सङ्क्रान्ति मेलाले बेनीबजारको व्यापार व्यवसाय, कला संस्कृति र पर्यटन विकासमा महत्त्वपूर्ण योगदान दिएको बेनीका पुराना व्यवसायसमेत रहनुभएका ८३ वर्षीय पुन्यबहादुर शाक्यले बताए । उनका अनुसार, म्याग्दीका साथै पर्वत र बागलुङबाट समेत बेनीस्थित कालीगण्डकीमा मकर सङ्क्रान्ती नुहाउन आउने र मेला भर्ने चलन थियो । तत्कालीन समयमा हुने माघि मेला बेनी क्षेत्रमा मनोरञ्जन, व्यापार व्यवसाय र आपसी भेटघाटको माध्ययम बनिरहेको थियो ।
पहिले दुई दिन सम्म माघे सङ्क्रान्ति मेलाजात्रा हुन्थ्यो, टाढा टाढाबाट आएकाले नाचगान गर्ने, गाउँका सामान ल्याएर बिक्री गर्ने र घरमा आवश्यक पर्ने सामान किनेर लैजाने गर्थे, सञ्चारको कुनै माध्ययम नहुँदासमेत माघे सङ्क्रान्तिमा बेनीमा मानिसको भिड थामिन सक्नु हुने गथ्र्योे । खासगरि बेनीमा डाला नाङ्ला, ठेका, फलामका भाँडाकुँडा र घरेलु हतियार, लत्ताकपडा र खाद्यान्न सामग्री खरिद बिक्री गर्न माघे सङ्क्रान्ती मेलालाई उपयोग गर्ने चलन रहेको थियो ।
जिल्लाभरबाट मेला भर्न आएकाहरूले मेलामा छेलो फाल्ने प्रतिस्पर्धा गर्थे भने विजेतालाई साफा( फेता ) गुथाएर सम्मान गर्ने प्रचलन रहेको थियो । बेनीबजारको परम्परागत संस्कृतिको रूपमा रहेको माघे सङ्क्रान्ती मेलाले परिवर्तित समय अनुसार परिमार्जन र नयाँ–नयाँ प्रयोग सहित निरन्तरता पाइरहेको छ । माघे सङ्क्रान्ती मेलाजात्रालाई २०५७ सालदेखि आधिकारिक आयोजक बनेर सञ्चालन गर्न थालिएको थियो । सुरूवातका दुई वर्ष निर्माण व्यवसायी सङ्घले माघे सङ्क्रान्ती मेला आयोजना गरेको थियो भने २०५९ सालमा म्याग्दी उद्योग वाणिज्य सङ्घको नेतृत्वमा मेलालाई निरन्तरता दिइएको थियो । त्यसयता हरेक तीन÷तीन वर्षमा एक पटक म्याग्दी उद्योग वाणिज्य सङ्घको आयोजनामा महोत्सव तथा अन्य वर्षमा महिला उद्यम विकास समितिको आयोजनामा मेला तथा सडकखाना महोत्सव सञ्चालन हुँदै आएको छ ।
विसं २०६० मा तत्कालीन धौलागिरि अञ्चलमै पहिलो पटक बेनीमा माघे सङ्क्रान्ती मेला तथा प्रथम म्याग्दी महोत्सव आयोजना समेत भएको थियो । म्याग्दी उद्योग वाणिज्य सङ्घका तत्कालीन अध्यक्ष प्रमोद श्रेष्ठको नेतृत्वमा माघे सङ्क्रान्ती मेलालाई महोत्सवको रूपमा आयोजना गरिएको छ ।
मौलिक पर्वको रूपमा माघे सङ्क्रान्ती मेलालाई व्यवस्थित रूपमा सञ्चालन भई आठौँ संस्करणको महोत्सव आयोजनाले जिल्लाको पर्यटन प्रवद्र्धन, सम्भावनाको उजागर, व्यापार व्यवसायको विस्तारसँगै कला संस्कृति संरक्षणमा महोत्सवको सकरात्मक प्रभाव रहेको देखिन्छ ।
यस वर्ष म्याग्दी उद्योग वाणिज्य सङ्घले आइतबारदेखि आठौँ म्याग्दी महोत्सव तथा माघे सङ्क्रान्ति मेला सञ्चालन गरेको हो । मेलालाई मनोरञ्जन र व्यापार व्यवसायको माध्ययम सँगसँगै जिल्लाको पर्यटन प्रवद्र्धन र आर्थिक विकासको सम्भावना उजागर गर्ने गरि सञ्चालन गरिएकोे मूल संयोजक एवं म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताए । “महोत्सव विगतको मेलाको निरन्तरता हो, तर हामीले नयाँपन दिने जमर्को गरेका छौँ, जिल्लामा रहेका कला संस्कृतिको संरक्षण, स्थानीय उत्पादनको प्रवद्र्धन र पर्यटन विकासलाई सघाउने गरि महोत्सवका कार्यक्रम तय गरेका छौँ,”– अध्यक्ष श्रेष्ठले भने ।
महोत्सवमा जिल्लामा रहेका उत्पादन र लघुउद्यमीहरूले तयार गरेका वस्तु तथा सामग्रीको बिक्रीवितरण र पदर्शनीका लागि निःशुल्क स्टलको प्रबन्ध गरिएको छ । महोत्सवलाई जिल्लाको सम्भावना उजागरसँगै जलविद्युत्, खानी, पर्यटन लगायतको क्षेत्रमा लगानी भित्र्याउन बहस, छलफल र उचित वातावरण बनाउने माध्ययम बनाउने जमर्को गरिएको सङ्घका वरिष्ठ उपाध्यक्ष राजेश शाक्यले बताए ।
म्याग्दी महोत्सवले जिल्लामा रहेका जातजातिका कला, संस्कृति संरक्षण र संवद्र्धनमा महत्त्वपूर्ण योगदान दिँदै आएको छ । म्याग्दीको चिमखोलाबाट सुरू भएको थालीनाचलाई व्यापक बनाउन बेनीमा हुने मेला जात्राले सहयोग पुग्ने गरेको छ ।
मौलिक वेषभूषा, संस्कृतिको संरक्षणमा जागरण ल्याउन बेनीमा माघे सङ्क्रान्ती पर्वको अवसरमा आयोजना हुने मेला महोत्सवले महत्त्वपूर्ण योगदान दिने गरेको नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति म्याग्दीका अध्यक्ष लोकबहादुर पुनले बताए ।
“बेनीमा माघे सङ्क्रान्तिको अवसरमा हुने मेलाजात्रा र महोत्सव मनोरञ्जन सँगसँगै संस्कृति संरक्षणको समेत माध्ययम बन्दै आएको छ, महोत्सवमा सबै समुदायको मौलिक कला संस्कृतिलाई प्राथमिकता दिने गरिएको छ, यसले संस्कृतिको संरक्षण गर्न र नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्न समेत सघाएको अध्यक्ष पुनले बताए । यस पटकको महोत्सवमा कलाकारहरूको सांगेतिक प्रस्तुतिसँगै खुल्ला लोकदोहोरी गीत प्रतियोगिता, छेलो फाल्ने, खुला पुख्र्यौली नाच , लोकनृत्य, भजन र रत्यौलीलगायत मौलिककला र संस्कृतिसँग सम्बन्धित प्रतियोगितालाई समावेश गरिएको छ ।




