भोलि देखि पोखरा महोत्सव सुरु ,सम्पुर्ण तयारी पूरा, टिकटक प्रतियोगिताको विजेताले ५० हजार रुपैया पाउने

-


     तुलसी राम सुवेदी    
     पौष २४ गते २०८१ मा प्रकाशित


पुस २४,पोखरा

युनाईटेड क्लब पोखराको आयोजनामा भोलि पौष २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने १३ औं संस्करणको पोखरा महोत्सवको सम्पुर्ण तयारी पूरा भएको युनाईटेड क्लब पोखराले जनाएको छ ।
शिक्षा, स्वास्थ्य, खेलकुद , पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षण संगै पोखरामा खुल्ला चिडियाखाना निर्माणमा पहलकदमी थाल्दै आएको युनाईटेड क्लब पोखराले १३ औं संस्करणको पोखरा महोत्सव देखि युनाईटेड छात्राबास निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने युनाईटेड क्लबका पोखराका महासचिव तथा प्रचार प्रसार संयोजक दिनेश सुनारले जनाए ।
१३ औं संस्करणको महोत्सवको पूर्व सन्ध्यामा युनाईटेड क्लबले पोखरा २७ अर्चलेमा रहेको आफ्नै जग्गामा युनाईटेड छात्राबासको सिलान्यास समेत सम्पन्न भइसकेकाले १३ औं संस्करणको पोखरा महोत्सव पश्चात छात्राबासको कामको शुरुवात हुने उनले बताए ।


पोखरा महोत्सवकै आम्दानीबाट १३ औं पोखरा महोत्सव सम्म आइपुग्दा पोखरा र आसपासमा रहेका १९ वटा सामुदायिक विद्यालयहरुमा छात्रवृत्ति अक्षयकोष स्थापना गरिसकेको र स्वास्थ्यको क्षेत्रमा विभिन्न दुर दराजका ग्रामीण भेगमा रहेकाहरुलाई लक्षित गरी निशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन गर्दै आइरहेको युनाईटेड क्लबका अध्यक्ष तथा १३ औं पोखरा महोत्सव मुल आयोजक समितिका संयोजक लोक बहादुर थापाले बताए ।
त्यसैगरी क्लबले खेलकुदको क्षेत्रमा आफै खेलकुदका प्रतियोगिता संगै खेलकुदका कार्यक्रमहरुमा प्रायोजन संगै सहयोगी संस्थाको रुपमा काम गर्दै आइरहेको बताउदै अध्यक्ष थापाले महोत्सवकै आयोजना गरी युनाईटेड क्लबले हाल सम्म पर्यटन प्रवद्र्धन तर्फ पोखरामा खुल्ला चिडियाखाना निर्माणमा ५८ लाख ८५ हजार हस्तान्तरण गरिसकेको र हाल उक्त परियोजना गण्डकी प्रदेश सरकार अन्तर्गत जिल्ला डिभिजन बन कार्यालयले स्वामित्व लिएर प्रदेश सरकारकै गौरवको आयोजना अन्तर्गत काम भइरहेको बताए ।
पोखरा महोत्सवको आयोजना गरी सेती नदी संरक्षणको क्षेत्रमा समेत काम गर्दै आइरहेको र यस वर्ष पनि महोत्सवको प्रत्येक टिकटबाट एक रुपैयाँ सेती नदी संरक्षणको लागि छुट्याउने कार्यलाई निरन्तरता दिने जनाईएको छ ।

१३ औं संस्करणको पोखरा महोत्सवको मुख्य प्रायोजक रवि एण्ड सन्नी इण्डष्ट्रिज प्रालिको बेटर, प्रायोजकहरुमा बन्दीपुर केबलकार एण्ड टुरिजम प्रालि, युएनआई एक्सपर्ट एलइडी लाइटिङ, स्टार सीड टेक्नोलोजीस, विवश इलेक्ट्रीकल प्रालि, साकुरा डिजाइनर्स एण्ड बिल्डर्स प्रालि, रारा तयारी चाउचाउ, सिद्धि अटोपार्टस एण्ड मोटरसाइकल वर्कसप (शिवचोक पोखरा १०), ओमडा जेको, भिजन लिंक कन्सल्टेन्सी प्रालि रहेका छन ।
महोत्सवमा मुुख्य प्रायोजक बेटर होम एपलायन्सको स्टलबाट रु १ हजार बराबरको सामान खरिद गरेमा १ वटा कुपन प्राप्त गर्न जनाईएको छ भने महोत्सवमा सामान खरिद गर्ने उपभोक्ताहरु मध्ये तीन जना भाग्यशाली उपभोक्तालाई बेटर एपलायन्सको तर्फबाट प्रथम भाग्यशाली उपभोक्तालाई १.५ टनको बेटर एसी, दोश्रो भाग्यशाली उपभोक्तालाई बेटर मोनाको प्रो २५ प्लस बेटर ब्रीथ ९० प्रो चिम्नी र तेश्रो भाग्यशाली उपभोक्तालाई बेटर युरो थ्री बिल्ट इन हव प्राप्त गर्न सक्नेछन ।
भाग्यशाली उपभोक्ताको घोषणा महोत्सवको अन्तिम दिन गोला प्रथाद्धारा महोत्सवको स्टेजबाट घोषणा गरि पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
महोत्सवमा आयोजना हुने टिकटक प्रतियोगितामा लाइकको आधारले प्रथम हुनेलाई आशिष इन्स्टीच्युट प्रालिको तर्फबाट नगद ५० हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन । महोत्सवको टिकट अनलाईन बाट रेभल एप मार्फत समेत बुकिङ गर्न सकिनेछ ।
महोत्सवमा शारिरीक अशक्त, बृद्धबृद्धा, एकल महिला, विदेशी पर्यटक, पत्रकार, ६ वर्ष मुनिका वालवालिका र सुरक्षाकर्मी (पोषाक सहित) हरुलाइ निशुल्क प्रवेश गराइने जनाईएकोछ ।
१२ दिन सम्म सञ्चालन हुने महोत्सवमा २ सय ५८ स्टल रहेको र सम्पूर्ण स्टलहरु बुकिङ भइसकेका छन भने महोत्सवमा २ देिख २ लाख ५० हजार दर्शकले महोत्सवको अवलोकन गर्ने अनुमान गरिएको छ ।
महोत्सवले देशको कला, संस्कृति, भेषभुषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धि तिर पु¥याउनेु, विकसित सुचना प्रविधिको जानकारी सर्वसाधारण समक्ष पु¥याउने, गण्डकी प्रदेशमा रहेका पर्यटकीय स्थानको बारेमा जानकारी दिदै आन्तरिक तथा बाह्य क्षेत्रमा उत्पादित वस्तुहरुको बजार सहजीकरण गराउने, सवै कलाकारहरुको प्रतिभा प्रस्फुटनमा सहयोग पु¥याउने, आर्थिक चलायमान गराई रोजगार सिर्जना गराउने, क्षेत्रगत बिकासमा टेवा पु¥याउने र उद्योगको प्रवद्र्धन गर्ने उद्देश्य लिएको छ ।
महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, ब्यवशायीक संघ संस्थाहरुको सेवा बारे जानकारी, स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण , पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचयन एवं जानकारी, नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुती संगै कृषिका गतिविधीहरु सञ्चालन हुनेछन ।
महोत्सवको आकर्षणमा टिकटक प्रतियोगिता र विभिन्न मनोरन्जनका कार्यक्रमहरुसँगै राष्टिय कलाकारहरुको सांगितिक प्रस्तुति रहनेछन् । १३ औं महोत्सवको थप आकर्षण र व्यवसायीक जानकारीको लागि अष्ट्रिच पंक्षीको प्रदर्शनी गरिने जनाईएको छ ।