
पौष १४ पोखरा
पोखराको फेवातालमा ‘दोस्रो ड्रागन बोट रेस फेष्टिभल’ शुरु भएको छ । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा सो फेष्टिभल शुरु भएको हो ।
सो फेस्टिभलमा नेपालसहित चीन र सिङ्गापुरका २० टोली सहभागी रहेका छन् । प्रतियोगितामा सहभागिताका लागि चीनको छेन्दुबाट विमान चार्टर गरी एक सय २९ जना खेलाडी यही पुस ११ गते पोखरा आइसकेका छन् । प्रतियोगितामा चीनको आठ, सिङ्गापुरको एक र बाँकी ११ टोली नेपालका विभिन्न ठाउँबाट सहभागी हुने जनाइएको छ ।
प्रतियोगितामा गण्डकी, बागमती, कर्णाली, त्रिभुवन आर्मी क्लब, ड्रागन बोर्ट गण्डकी, बेगनास टोली, रुपाताल टोली र नेपाल ¥याफ्टिङ एजेन्सिज एसोसिएसन (नारा) सहित ११ टोलीको सहभागिता छ ।
प्रतियोगितामा पाँच सय सय र दुई सय मिटर दौडका विजेता टोलीलाई पाँच हजार अमेरिकी डलर, उपविजेतालाई दुई हजार डलर र तृतीय हुने टोलीलाई एक हजार दुई सय अमेरिकी डलर पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
फेष्टिभल उद्घाटन गर्दै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुदका माध्यमबाट समृद्ध मुलुक र सशक्त समाज निर्माणमा योगदान पुग्ने बताए । उनले खेलका माध्यमबाट विभिन्न देश र समुदायका बीचमा एकता र सद्भाव कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
शारीरिक र मानसिक रूपमा स्वस्थ रहनका लागि खेलकुद जरुरी रहेको बताउँदै मन्त्री चौधरीले निरन्तर खेलकुदका गतिविधि सञ्चालन गरी योग्य खेलाडी उत्पदान गर्दै जानुपर्ने गर्नुपर्ने आवश्यकता औँल्याए । ड्रगन बोट रेस फेष्टिभलले पोखराको खेल तथा पर्यटन क्षेत्रको विकास गर्नुका साथै नेपाल र चीनका नागरिकका बीचमा रहेको सुमधुर सम्बन्धलाई थप मजबुद बनाउने धारणा राखे ।
नेपालको प्रमुख पर्यटकीय साझेदार राष्ट्रका रूपमा चीन रहेको उल्लेख गर्दै मन्त्री चौधरीले यस प्रतियोगिताका माध्यमबाट पोखरासहित नेपालको पर्यटन प्रवद्र्धन र विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरे ।
नेपाल र छिमेकी मुलुक चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्धलाई सशक्त बनाउन प्रतियोगिता सफल बन्ने उल्लेख गर्दै उनले सहभागी सबै प्रतियोगीलाई सफलताको शुभकामना व्यक्त गरे ।
पोखरालाई खेलकुदको क्षेत्रमा अघि बढाउने किसिमबाट काम भइरहेको बताउँदै मन्त्री चौधरीले सन् २०२७ मा हुने यू–१९ महिला क्रिकेट विश्वकपमा पोखरा पनि छानिएकाले आगामी आर्थिक वर्षमा खेलकुदसम्बन्धी पूर्वाधार विकास, खेलाडीलाई तालिमलगायत क्षेत्रमा बजेट विनियोजना गरिने जानकारी दिए ।
नेपालका लागि चिनियाँ राजदूत छन सोङले सुन्दर पोखराको फेवातालमा आयोजित ड्रागन बोट रेस फेष्टिभल दुई देशको सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरे ।
चिनियाँ नगारिकका लागि पोखरा प्रमुख गन्तव्यका रूपमा रहेको भन्दै उनले यस वर्षको ड्रागन बोट रेसमा अघिल्लो वर्षको तुलनामा खेलाडीको सहभागिता तेब्बरले वृद्धि भएको जानकारी दिए । महोत्सवले पोखरालाई चिन्न र बुझ्न अझै सहयोग पुग्ने उनको भनाइ छ ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्रकृति, कला र संस्कृतिले सम्पन्न पोखरा पर्यटन राजधानी रहेकाले बृहत् पोखराको अवधारणाका साथ यहाँको पर्यटकीय विकासमा विविध गतिविधि सञ्चालन गर्न थालिएको बताए ।
पर्यटन प्रवद्र्धन र विकासमा यस किसिमका खेलकुदका गतिवधिले सहयोग पु¥याउने उनको भनाइ छ । क्रस कन्ट्री, ड्रागन बोटलगायत खेलका माध्यमबाट दुई देशबीचको सम्बन्धलाई अझै बलियो बनाउने उनले विश्वास व्यक्त गरे । सन् २०२५ लाई पोखरा भ्रमण वर्षका रूपमा मनाइने बताउँदै नगरप्रमुख आचार्यले चीनका विभिन्न सहरबाट पोखरामा सिधा उडान सञ्चालनका लागि चिनियाँ सरकारलाई आग्रह गरे ।
गण्डकी प्रदेशका समाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले पोखरा खेल पर्यटनका दृष्टिले पनि सम्भावना बोकेको ठाउँ रहेको बताए ।
ड्रगन बोट रेस प्रतियोगिताले पोखरालाई खेल पर्यटनको गन्तव्यका रूपमा विकास गर्न पनि थप टेवा पुग्ने उनको भनाइ छ ।




