
९ पौष कास्की
अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर पोखरामा आज देखि अन्तर्राष्ट्रिय बेलनु महोत्सव सुरु भएको छ । पोखरालाई साहसिक खेलकुदको माध्यमबाट पर्यटन प्रबर्द्धन गर्ने उद्वेश्य सहित पोखरा पर्यटन परिषद् र बेलुन नेपाल प्रा.लि.को संयुक्त आयोजनामा यो महोत्सवको आयोजना गरिएको हो ।
कार्यक्रमको उद्धघाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ले गरेका थिए । उद्धघाटन पश्चात कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री पाण्डेले यस किसिमका महोत्सवले आन्तरिक मात्र नभई वाह्य पर्यटकलाई समेत आकर्षित गर्ने बताए । साथै उनले महोत्सवले पोखरा मात्र नभई समग्र नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्न सहयोग पुग्ने बताए् ।
यस महोत्सव अवधिभर विभिन्न सांस्कृतक कार्यक्रमहरुका साथै पोखराका स्थानीय सांगीतिक ब्यान्ड र दीपक बज्राचार्य एण्ड टिम, राजु लामा एण्ड मंगोलियन हार्ट, एलिना चौहान, कुमा सागर एण्ड ख्वपः ब्यान्ड जस्ता नेपाली कलाकारको सांगीतिक प्रस्तुति पनि रहने पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले जनाए ।
नौ दिनसम्म सञ्चालन हुने यस महोत्सवमा अमेरिका, स्पेन, जापान, दक्षिण कोरिया, बेलायत, मलेसिया, लिथुआनिया, थाइल्यान्ड, भियतनामलगायत २० भन्दा बढी देशको सहभागिता रहने बेलुन नेपाल प्रा.लि. का प्रबन्ध निर्देशक सविन महर्जनले जानकारी दिएका छन् ।
त्यस्तै महोत्सवमा १५ देशका पाइलट पनि सहभागि हुने र एकै पटकमा २० वटासम्म बेलुनहरु पोखराको आकाशमा उड्ने उनले बताएका छन् ।
कम्पनीका ब्राण्ड एम्बेस्टर का रुपमा रहेका महानायक राजेश हमाल र नायीका प्रियड.का कार्की को समेत कार्यक्रममा उपस्थिती रहेको थियो ।
सो हट एयर बेलुनमा एकपटकमा ८ जनासम्म पर्यटक उड्न सक्नेछन् । बेलुन उडान महोत्सव अवधिमा बिहान ६ देखि ९ बजे र बेलुकी ४ देखि ६ बजेसम्म हुनेछ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जमिनको सतहदेखि ५ हजारफिट उचाइसम्म बेलुन उड्न पाउनेगरि सीमा तोकिदिएको छ । पोखराको आकाशमा बेलुनको उचाईबाट उत्तरतर्फको हिमाली श्रृंखला, पोखरा शहर, फेवाताल सहितका यहाँका प्राकृतिक सौन्दर्य समेत अवलोकन गर्न पाइने आयोजकले जनाएको छ ।
सुरक्षाको लागि महोत्सव अवधिभर पामेको आकाशमा नोटाम (नोटिस टु एयर म्यान) जारि गरिएको पोखरा विमानस्थलका प्रबन्धक योगेन्द्र कुँवरले बताएका छन् ।
वि.सं २०७३ सालमा स्थापना भएको बेलुन नेपाल प्रा.लि.ले २०७५ सालदेखि पोखरामा हट एयर बेलुनको व्यावसायिक उडान गर्दै आएको छ । कम्पनीले गत वर्ष फेब्रुअरीमा थाइल्याण्डमा सम्पन्न ‘इन्टरनेशनल बलुन फियस्ता, २०२४’ मा सहभागिता जनाइसकेको छ । आज देखि पोखराको पामे क्षेत्रमा सुरु भएको महोत्सव पुस १७ गतेसम्म चल्ने छ ।




