पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न सरकार प्रयासरत ः उपप्रधानमन्त्री सिंह

-


     केन्द्रीय आवाज    
     मंसिर १५ गते २०८१ मा प्रकाशित


२०८१ मंसिर १५ पोखरा
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न सरकार प्रयासरत रहेको बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार भेटमा उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् । अर्काे प्रसंगमा बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गत अनुदान नै उपयुक्त हुने विचार व्यक्त गरे । बिआरआई परियोजनाअन्तर्गत सडक, सुरुङलगायत भौतिक पूर्वाधारका क्षेत्र छनोट गरिनुपर्नेमा जोड दिए । वर्तमान आर्थिक अवस्थाका कारण ऋणका लागि ऋण लिनु उपयुक्त नहुने देखिएको भन्दै उनले परियोजना सम्पन्न हुन समय लाग्ने र पछि सरकारलाई ऋण तिर्न गाह्रो हुने भएकाले अनुदान लिनु उपयुक्त हुने स्पष्ट पारे ।
मन्त्री सिंहले मुलुकमा स्थायित्व कायम गर्न, आर्थिक समृद्धि हासिल गर्न र जनताका भावनाअनुरूप काम गर्न संसद्का दुई ठूला दल मिलेर वर्तमान सरकार गठन भएको बताए ।
उनले सहमति र सहकार्यका आधारमा सरकार अघि बढिरहेको उल्लेख गरे ।
सरकारले सहकारीसहित अन्य अनियमितताको कानुनअनुसार अनुसन्धान अघि बढाएको उपप्रधानमन्त्री सिंहले बताए ।