
कार्तिक २९ पोखरा
पोखरा महानगरपालिकाभित्रका तालहरुलाई जोड्ने गरी निर्माण गर्न लागिएको ‘लेक टु लेक साइकल ट्र्याक’को गुरुयोजनाका लागि छलफल गरिएको छ । विकास साझेदार एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा निर्माण हुने उक्त ट्र्याकको रुटका विषयमा सरोकारवालासँग छलफल गरिएको हो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ८५ किमी लम्बाइको लेक टु लेक जोड्ने साइकल ट्र्याक पोखराका लागि महत्त्वपूर्ण पर्यटकीय पूर्वाधार बन्ने विश्वास व्यक्त गरे । उनले भने, ‘यसले संसार भरीका साइकल प्रेमीलाई पोखरामा आकर्षण गर्नेछ, पर्यटकलाई हिमाल हेर्दै तालको किनारमा गरिने साइक्लिङको आनन्द प्रदान गर्नेछ’, उनले भने, ‘पोखराको पर्यटन विकासमा यो महत्त्वपूर्ण कोषे ढुङ्गा साबित हुनेछ ।’
मेयर आचार्यले पोखरा महानगरपालिका वातावरणीय हिसाबले पनि स्वच्छ, सुन्दर र आकर्षक रहेकाले यहाँ बन्ने साइकल ट्र्याक मानव स्वास्थ्य र पर्यावरणको संरक्षण प्रति समर्पित एक दिगो पूर्वाधार बन्ने उनले विश्वास व्यक्त गरे । विकास साझेदार एसियाली विकास बैङ्कको करिब एक अरब रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुने उक्त ट्र्याकले पोखरामा रहेका सबै ताललाई एक आपसमा जोड्ने छ ।
पोखराको दिगो पर्यटन विकासअन्तर्गत यो परियोजना सञ्चालनका लागि गुरुयोजना निर्माण गर्न लागिएको हो । प्रारम्भिक चरणमा सुरु गरिएको यसमाथिको छलफलमा पोखरामा रहेका पर्यटन लगायत सरोकारवालाको सहभागिता थियो ।
पोखरामा रहेका ताललाई एक आपसमा जोड्ने गरी इनर र आउटर दुई वटा रुटसहित विभिन्न स्थानमा कनेक्ट रुटसमेत निर्माण गर्दा करिब ८५ किमी लम्बाइको साइकल ट्र्याक निर्माण हुनेछ ।






