दुर्गा भण्डारी राष्ट्रिय सूचना आयोगको सदस्यमा सिफारिस

-


     केन्द्रीय आवाज    
     कार्तिक १९ गते २०८१ मा प्रकाशित


कार्तिक १९ पोखरा
राष्ट्रिय सूचना आयोगको सदस्यमा पोखराकी दुर्गा भण्डारीको नाम सिफारिस भएको छ । लामो समय पत्रकारितामा सक्रिय भण्डारी यसअघि प्रेस काउन्सिल नेपालको सदस्य रहेर काम गरेकी थिइन् । उनी कानूनी व्यवसायमा पनि सक्रिय छन् । सूचना आयोग पदाधिकारी नियुक्ति सिफारिस समितिको सोमबारको बैठकले प्रमुखसहित र सदस्यको नाम सिफारिस गरेको हो । भण्डारीसँगै सदस्यमा सचिव गगन विष्टको नाम पनि सिफारिस भएको छ । उनी नेकपा एमालेको प्रचार विभागका सचिव हुन् । प्रमुख सूचना आयुक्तमा भने नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा. सुरेश आचार्यको नाम सिफारिस भएको छ ।
यसअघि सिफारिस समितिको सचिवालयले एक सूचना जारी गर्दै आवेदन पेस गर्न आव्हान गरेको थियो । सूचनाको हक सम्बन्धी ऐन, २०६४ बमोजिम योग्यता पुगेका व्यक्तिलाई राष्ट्रिय सूचना आयोगमा पदाधिकारी सिफारिसका लागि गठित सिफारिस समितिको सचिवालयमा आफ्नो व्यक्तिगत विवरणसहित योग्यताका प्रमाणित प्रतिलिपिसहित पेस गर्न भनिएको थियो ।
प्रमुख सूचना आयुक्त र सूचना आयुक्तमा आवेदन दिनका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरेको, आमसञ्चार, कानुन न्याय, सार्वजनिक प्रशासन, सूचना प्रविधि वा व्यवस्थापनको क्षेत्रमा कम्तीमा १५ वर्षको अनुभव हासिल गरेको, ६५ वर्ष उमेर ननाघेको हुनु पर्दछ । सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा १३ बमोजिम अयोग्य नभएको हुनुपर्ने हुन्छ ।
आवेदन कार्तिक १३ गतेसम्म कार्यालय समयभित्र बुझाइसक्नुपर्ने र इच्छुक उम्मेदवारले योग्यता खुल्ने प्रमाणित प्रतिलिपि पेस गर्नुपर्ने सूचनामा जारी गरेको थियो ।
ऐनको दफा ११ अनुसार उपदफा ३ अनुसार प्रमुख सूचना आयुक्त र सूचना आयुक्तको पदमा नियुक्तिका लागि सिफारिस गर्न सभामुख देवराज घिमिरेको अध्यक्षतामा तीन सदस्यीय सिफारिस समिति रहने व्यवस्था छ ।
समिति सदस्यमा सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष बाला अधिकारी छन् ।