
कार्तिक १९ ,पोखरा
सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मंगलबार अदालतमा लगिँदै छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई कास्की जिल्ला अदालतमा मंगलबार लगिने भएको हो । उनको हिरासतमा बस्ने म्याद गत १४ गते बुधबार नै सकिएको छ । तिहारको सार्वजनिक बिदाका कारण उनको म्याद थप हुन सकेको छैन ।
उनको थप सात दिन म्याद थप हुनसक्ने सम्भावना छ । उनलाई अदालत लैजाने समय एकीन नभएको अनुसन्धान अधिकृत, कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए । शर्माका अनुसार रविसँगै छविलाल जोशी र लीला पछाइलाई पनि मंगलबार अदालत उपस्थित गराइँदैछ । सरकारी वकिलको कार्यालयले लामिछानेसँग बयान लिने काम सकिसकेको छ । बयान सकिए पनि अनुसन्धान भने जारी छ । सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा पक्राउ परेका लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान भइरहेको डीएसपी शर्माले जानकारी दिए ।
कार्तिक २ गते शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई शनिबार ३ गते बिहान कास्की ल्याइएको थियो । कात्तिक ४ गते छ दिन र त्यसपछि कार्तिक ८ गते कास्की जिल्ला अदालतले साथ दिन म्याद थप गरेर प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको थियो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले समेत कास्की प्रहरीलाई पत्र पठाएकाले उनलाई त्यसतर्फ पठाउने तयारीसमेत भइरहेको शर्माले जानकारी दिए । कार्तिक २२ गते सार्वजनिक बिदा परेकाले त्यसपछि नै रविलाई रुपन्देही पठाउने विषयमा छलफल भइरहेको शर्माको भनाइ ।
लामिछानेविरुद्ध बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा रुपन्देही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।
रुपन्देही प्रहरीले छविलालसँग भने यसअघि नै बयान लिइसकेको छ । छविको दशैँ र तिहार प्रहरी हिरासतमै बितेको थियो । उनी असोज ६ गते पक्राउ परेका थिए । उनलाई पनि कात्तिक ८ मा चौथोपटक सात दिनको म्याद थप भएको थियो।
यस्तै, सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको आरोपमा कास्की प्रहरी हिरासतमै रहेकी लीला पछाइलाई पनि अदालतले कात्तिक ८ गते बिहीबार सात दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।






