
कार्तिक १५ , पोखरा
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ्मा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा हालसम्मकै धेरै पर्यटकले भ्रमण गरेका छन् । दसैँ तिहारको बिदाको समयलाई सदुपयोग गर्दै आन्तरिक पर्यटक अन्नपूर्ण हिमाल आधार शिविरमा पुगेका हुन् । यहाँ पुग्ने पदमार्गको पहिचान भएको १३ वर्षको अवधिमा यसपटक धेरै पर्यटक आएको पदमार्गका अभियन्ता तेज गुरुङले जनाए ।
उनका अनुसार दसैँपछि अहिलेसम्म करिब तीन हजार पर्यटकले अन्नपूर्ण आधार शिविरको भ्रमण गरेका छन् । यो सिजनमा आन्तरिक सँगसँगै विदेशी पर्यटकसमेत उल्लेख्य मात्रामा आधार शिविरमा पुगेको गुरुङले जानकारी दिए । बुधबारदेखि शिविरमा आन्तरिक र विदेशी गरी करिब तीन सय पर्यटक रहेको उनले बताए । ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरबाट यो हिमाल आरोहण गर्ने गरिएको छ ।
सन् १९५० जुन ३ तारिकका दिन अन्नपूर्ण प्रथममा पहिलो मानव पाईला परेको थियो । फ्रान्सेली आरोही मौरिस हर्जोग र लुइस लचेनलले अन्नपूर्ण प्रथम हिमालमा पहिलोपटक आरोहण गरेर इतिहास रचेका थिए । उक्त आरोहण दलको नेतृत्व गरेका मौरिस हर्जोगको सम्मानमा नारच्याङ देखि अन्नपूर्ण प्रथमको उत्तरी आधार शिविर पुग्ने पदमार्गलाई ‘मौरिस हर्जोग’ नामकरण गरिएको छ ।
मनमोहक पञ्चकुण्ड ताल, झरना र जैविक विविधता युक्त भूगोल अन्नपूर्ण पदमार्गका मुख्य आकर्षण हुन् । हर्जोगले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै विस २०६८ मा यस पदमार्गको पहिचान गरिएको थियो । तत्पश्चात् पदमार्ग, आश्रयस्थल लगायत पूर्वाधार बनेर प्रचारप्रसार हुन थालेपछि ठूलो संख्यामा पर्यटकको आगमन भइरहेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनको भनाइ छ ।
‘पर्यटकको आगमन बढेको छ, हुमखोलादेखि आधार शिविरसम्मको दुई दिनको पदयात्रामा होटल सुविधा नभएकाले हामीले सामुदायिक लज बनाउने अवधारणा अघि सारेका छौँ, त्यसको लागि जग्गा प्राप्ति प्रक्रिया अघि बढेको छ, मन्त्री परिषद्कै निर्णय आवश्यक पर्ने भएकाले तिहारलगत्तै सङ्घीय सरकारमार्फत निर्णय गराउन पहल गर्छौँ,’ उनले भने ।
गाउँपालिकाले गतवर्ष अन्नपूर्ण आधार शिविर क्षेत्रको पर्यटन विकासका लागि एकीकृत गुरुयोजना तयार गरिसकेको छ । गुरुयोजनाअनुसार आधार शिविर र भुसकेट मेलामा लज बनाउन चालु आर्थिक वर्षमा १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको र त्यसको लागि जग्गा व्यवस्थापनको पहल थालिएको गाउँपालिका अध्यक्ष पुनले बताए ।
यस पदमार्गअन्तर्गत पोखरेबगरदेखि हुमखोलासम्मको २० किलोमिटर दूरीको बाटोमा सडकको पहुँच पुगेको छ भने हुमखोलादेखि १६ किलोमिटर दूरीमा पदमार्ग बनाइएको छ । सडकको पहुँच पुगेको हुमखोलासम्म होटल सुविधा रहे पनि त्यहाँदेखि आधार शिविरसम्म होटल, लजको सुविधा नभएकाले पर्यटक आफैँले खाना बस्नको लागि बन्दोबस्त मिलाएर जानुपर्ने बाध्यता छ ।
आधार शिविरमा आरोही टेन्ट टाँगेर बस्छन् भने शिविरमै रहेको आश्रयस्थलले आन्तरिक पर्यटकका लागि बास बस्न सहज बनाइदिएको छ । पदमार्गअन्तर्गत छोटेपा, हुमखोला, संधिखर्क, गुफाफाँट, भुसकेटमेला, धरमढु्ङ्गा र आधार शिविरमासमेत आश्रयस्थल निर्माण भएको छ । ठाउँठाउँमा खोला वारपार गर्न झोलुङ्गे पुलनिर्माण भएका छन् । आधार शिविर र पदमार्गको व्यवस्थित पूर्वाधार निर्माण गर्न गाउँपालिकाले एकीकृत गुरुयोजना निर्माण गरेर अघि बढेको छ । गाउँपालिकाले अन्नपूर्ण प्रथम हिमालको पर्यटन प्रवर्द्धन गर्न अभियान नै सञ्चालन गरिरहेको जनाएको छ ।
हिमाल आरोहणमा सबैभन्दा कठिन मानिने अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पुग्न सहज भएपछि यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको हो ।






