
कार्तिक १४,पोखरा
गृहमन्त्री रमेश लेखकले सहकारी ठगी, अपचलन र हिनामिनामा संलग्न कसैलाई नछाड्ने बताएका छन । तथ्य र प्रमाणका आधारमा सरकारले अनुसन्धान र कारबाही अघि बढाएको बताउदै उनले सरकारले कसैको मुख हेरेर नभई तथ्य र प्रमाण का आधारमा अनुसन्धान तथा कारबाही गर्ने बताए । सहकारी ठगीमा प्रमाण भेटिए कांग्रेस उपसभापति धनराज गुरुङमाथि समेत कारबाही हुने उनले बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले बुधबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले गुरुङमाथि अनुसन्धान हुने र प्रमाण भेटिए कारबाही हुने बताए ।
रवि लामिछानेको प्रसंगमा गृहमन्त्री लेखकले रवि एक व्यक्तिलाई मात्र अनुसन्धानको दायरामा नल्याएको बताउदै संसदीय छानविन समितिले अनुसन्धान गरेर कारबाहीका लागि सिफारिस गरेका सबै व्यक्ति अनुसन्धानको दायरामा आइसकेको स्पष्ट पारे ।
संसदीय समितिले अनुसन्धान गरेर कारबाही गर भनेर जीबी राई, रवि लामिछाने, छविलाल जोशी र कुमार रम्तेलको नाम सिफारिस गरेको भन्दै गृहमन्त्री लेखकले जीबी राई बाहिर भए पनि रवि र छविलाई अनुसन्धानको दायरामा ल्याइएको बताए । उनले सरकारले सहकारी ठगी, अपचलन, हिनामिना र संगठित अपराधका दोषीलाई कारबाही गर्ने मात्र नभएर सहकारीको बचत फिर्ता गर्ने समेत स्पष्ट पारे ।




