
कार्तिक ८ काठमाडौँ
प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तन, गरिबी र सुरक्षा चुनौतीलगायत विश्वव्यापी चुनौती समाधानका लागि सामूहिक र बहुपक्षीय प्रयास आवश्यक रहेको बताएका छन् । संयुक्त राष्ट्र सङ्घ स्थापना दिवसका अवसरमा आज सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले नेपाल विश्वव्यापी शान्ति, स्थिरता र दिगो विकासलाई अगाडि बढाउन रचनात्मक भूमिका खेल्न तयार रहेको बताए ।
शान्तिपूर्ण सहअस्तित्व, पारस्परिक सम्मान र गैरहस्तक्षेप नेपालको परराष्ट्र नीतिको महत्वपूर्ण सिद्धान्त भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपालले ‘सबैसँग मित्रता’को भावना अघि सारिरहेको स्पष्ट पारे । संयुक्त राष्ट्र बडापत्रप्रति नेपालको प्रतिबद्धता दोहोर्याउँदै उनले अन्तर्राष्ट्रिय क्षेत्रमा शान्ति, समानता, सहयोग र द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि नेपालले दशकौँदेखि निरन्तर पैरवी गर्दै आएको स्मरण गरे ।
राष्ट्र सङ्घीय शान्ति मिसन, अन्तर्राष्ट्रिय सन्धि र निशस्त्रीकरण प्रयासमा नेपालको योगदानले विश्वव्यापी शान्ति र सद्भावप्रतिको समर्पणलाई झल्काएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले प्रतिकूलताका बाबजुद पनि द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापना कार्यमा खटिइएका शान्ति सैनिकको भूमिका प्रशंसनीय रहेको उनले बताए ।
राष्ट्र सङ्घको आह्वानमा नेपालले शान्ति सैनिक पठाउन थालेको इतिहास गर्व गर्न लायक रहेको जनाउँदै प्रधानमन्त्री ओलीले पछिल्लो समय शान्ति अभियानले विभिन्न चुनौती सामना गरिरहेको बताए । शान्ति सैनिकहरु हिंसात्मक समूह र बदलिँदो सुरक्षा अवस्थाबाट जोखिममा रहेका उल्लेख गर्दै उनले जटिल बन्दै गएका द्वन्द्व व्यवस्थापन र समाधानका लागि मजबुद अन्तर्राष्ट्रिय समर्थन र ऐक्यबद्धता आवश्यक भएको बताए ।
प्रधानमन्त्री ओलीले विश्वव्यापी समुदायले सामना गरिरहेको वातावरणीय चुनौती सम्बोधन गर्न तथा मानवजातिको साझा खतराविरुद्ध सामूहिक रूपमा लड्ने बेला आएको बताए । संयुक्त राष्ट्र सङ्घको ७५औँ महासभाले जलवायु परितर्वन, जैविक विविधताको हानी र वातावरणीय ह्रासबाट आइपर्ने चुनौतीलाई स्पष्टसँग किटान गरेको उल्लेख गर्र्दै प्रधानमन्त्री ओलीले ती चुनौती समाधान गर्न दृढ प्रतिबद्धता र सामूहिक प्रयासको खाँचो औँल्याए ।
नेपालजस्ता देशहरूले विश्वव्यापी कार्बन उत्सर्जनमा न्यून योगदान गरेका भए पनि जलवायु सङ्कटबाट प्रभावित हुन पुगेको बताउँदै प्रधानमन्त्री ओलीले वातावरणीय प्रभाव अन्त्यका लागि विश्वव्यापी साझेदारी गर्न नेपाल तयार रहेको स्पष्ट पारे । नेपाल संयुक्त राष्ट्र सङ्घका सिद्धान्तप्रति आफ्नो प्रतिबद्धतामा अडिग रहेको दोहो¥याउँदै प्रधानमन्त्रीले शान्ति, सुरक्षा, दिगो विकास र वातावरण संरक्षणको विश्वव्यापी प्रयासलाई अनवरतरुपमा समर्थन गरिरहने बताए ।
नेपाल सन् १९५५ मा संयुक्त राष्ट्र सङ्घको सदस्य बनेको र हालसम्म राष्ट्र सङ्घको बडापत्रप्रति प्रतिबद्ध मुलुकका रुपमा रहेको छ । समारोहमा द्वन्द्वग्रस्त मुलुकका ११ वटा मिसनमा तैनाथ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्मिलित फौजले मार्च पास गरेको थियो । सो अवसरमा मारुनी, मघौटा, झ्याउरे र हुड्केली नाच तथा नेवारी समुदायको सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो ।
नेपाली सेनाका खेलाडीले तेक्वान्दो खेल प्रस्तुत गरेको सो समारोहमा तीन वटै सुरक्षा सङ्गठनका तर्फबाट संयुक्त ब्याण्ड तथा नेपाली सेनाको हेलिकप्टरमार्फत ‘यु एन डे–२०२४’ लेखिएको व्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो । समारोहमा मन्त्रीगण, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि सहभागी थिए ।
मुलुकले शान्ति सेनामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट सुरक्षाकर्मी परिचालन गर्दै आएका छ । राष्ट्रसङ्घीय शान्ति सेनामा सैनिक परिचालन गर्ने मुलुकको सूचीमा नेपाल प्रथम स्थानमा छ । राष्ट्रसङ्घको आह्वानमा हाल विश्वका एक सय २० राष्ट्रबाट ९७ हजार शान्ति कार्यरत छन् ।
राष्ट्रसङ्घको छातामुनि विश्वका विभिन्न मुलुकमा स्थापना भएका ११ शान्ति मिसनमा छ सय ५१ महिलासहित पाँच हजार नौ सय १८ नेपाली शान्ति सैनिक परिचालन भएका छन् । शान्ति सेनामा महिला परिचालन गर्ने मुलुकको सूचीमा पनि नेपाल शीर्षस्थानमा छ । शान्ति मिसनमा सशस्त्र प्रहरी बलबाट एक सय ९५ र नेपाल प्रहरीका २८ जना कार्यरत छन् ।
नेपाली सेनाका अनुसार हालसम्म ४४ मिसनमा एक लाख ५३ हजार छ सय ५४ नेपाली शान्ति सैनिकले आफ्नो सौर्य प्रदर्शन गरेका छन् ।
सन् १९५८ मा लेबनानमा पाँच सैनिक पर्यवक्षक परिचालन गरेर विश्वशान्ति स्थापनाका निम्ति स्थापना भएको राष्ट्रसङ्घसँग सहकार्य सुरु गरेको नेपालले सन् १९७४ मा नेपाली सेनाको पुरानो गोरख गणलाई इजिप्टमा परिचालन गरेको थियो । हालसम्म ७३ नेपाली शान्ति सैनिकले वीरगति प्राप्त गरेका छन् भने ६९ जना घाइते भएका छन् ।






