
कार्तिक ७ पोखरा
सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति पोखरा सहकारी बचत पीडित संघ कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरू घरघरमा पुगेर सहकारी पीडितलाई भड्काउने काम गरेको भन्दै आपत्ति जनाएको छ । बुधबार विज्ञप्ति प्रकाशित गरी सहकारी पिडित संघर्ष समितिले यस्तो आपत्ति जनाएको हो ।
समितिले बचत फिर्ताको माग गर्दै बिहीबार बिहान ११ बजे पोखराको मुस्ताङचोकमा बृहत प्रदर्शन गर्ने जनाएको छ । समितिद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ, ‘मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बचाउ अभियानमा उक्त पार्टीका नेता र कार्यकर्ताले पोखराको शान्त वातावरण नै बिथोल्ने गरी पीडित बचतकर्ताबिरुद्ध गरेको कार्यक्रम, नाराबाजी, भाषणका साथै टोलटोल र घरघरमा पुगी पीडित बचतकर्तालाई भड्काउने गरेको कामप्रति हामी घोर आपत्ति प्रकट गर्दछौँ ।’
संघर्ष समितिले सहकारीको बचत फिर्ता गर्ने र अनुसन्धानलाई नै प्रभावित गर्ने गरी भइरहेको प्रदर्शन तत्काल रोक्न माग गरेको छ । समितिले रास्वपाका नेता कार्यकर्ताले पीडितलाई लखेट्ने र पिट्ने गरेको आरोप लगाउँदै रास्वपा सरकारमा हुँदासमेत आफूहरूले गुहार माग्दा कुनै सहयोग नपाएको गुनासो गरेको छ ।
विज्ञप्तिमा थप भनिएको छ, ‘विगत दुई वर्ष अगाडिदेखि यो पार्टी सरकारमा हुँदा या नहुँदा पार्टीका नेतासँग हारगुहार गर्दा, कैयन पटक ज्ञापन पत्र बुझाउँदा पीडितको समस्या समाधानका निम्ति बिन्ती बिसाउँदा पनि कहिल्यै कुनै सर सहयोग नभएको कुरा छर्लङ्ग छ ।’
‘तर आज पार्टी सभापति नै अनुसन्धान को दायरामा आउँदा झोलामा पीडितको पैसा बोकी फिर्ता दिने हो की जस्तो गरी टोलटोलमा गरिएको भाषणले जब पार्टी सभापति पक्राउ परे तब घैँटोमा धाम लागेजस्तो देखिएको छ, यो विषयले हामी सहकारी पीडित झनै सशङ्कित भएका छौँ’, समितिले विज्ञप्तिमार्फत दुःखेसो पोखेको छ ।
आफूहरुको गम्भीर विषयमा राजनीति भइरहेको भन्दै समितिले प्रश्न गरेको छ, ‘विगत १० महिना अघि नै उहाँको पार्टी सभापतिविरुद्ध परेको किटानी जाहेरीको विषयमा के हेरिरहनु भयो ? किन कहिल्यै पीडित बचतकर्तासँग कुनै सर सल्लाह भएन ? त्यसैले अहिलेको यो प्रदर्शन र कार्यक्रमको कुनै औचित्य नभएको प्रस्ट छ ।’
आन्दोलनमा जनसहभागिता नदेखिएपछि रास्वपाका नेताहरु पोखरेलीको घरघरमा पुगेर आन्दोलनमा समर्थन गरिदिन आग्रह गरेका थिए । आन्दोलनमा देशभरबाट पोखरा आएका रास्वपाको कार्यकर्तामात्रै देखिन्छन् ।


तस्विर बिलक सुवेदी
शनिबार पोखराको चिप्लेढुंगामा जनसहभागिता देखिँदा हौसिएको रास्वपाले निरन्तर आन्दोलन गर्ने घोषणा गरेको थियो । दैनिक बिभिन्न स्थानहरुमा रास्वपाका नेता तथा कार्यकर्ताहरुले प्रदर्शन जारी राखेका छन । आज पनि पोखरा १७ बिरौटामा बिरोध प्रर्दशन गरिएको थियो ।
यस्तो छ विज्ञप्ति ।





