
कार्तिक ६ पोखरा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कार्यकर्ताले आज पनि पोखरामा प्रदर्शन जारी राखेका छन् । देशका विभिन्न भागबाट पोखरा पुगेका रास्वपाका नेता तथा कार्यकर्ताले प्रदर्शन जारी राखेका हुन् ।
रास्वपाका कार्यकर्ता आज बुद्धचोक राम बजार हुदै अमरसिंहचोकमा केहिवेर नाराबाजी गरेपछि नारावाजी गर्दै पृथ्वीचोक तर्फ गएका थिए । आजको प्रदर्शन शान्तिपूर्ण थियो । प्रदर्शनका कारण पोखराको यातयात भने प्रभावित भएको थियो।


तस्विर बिलक सुवेदी
प्रदर्शनमा सहभागीले ‘सहकारीपीडितलाई न्याय दे’, ‘माफियाहरूलाई कारबाही गर’, ‘भ्रष्ट सरकार मुर्दावाद’लगायत नारा लगाएका थिए ।


तस्विर बिलक सुवेदी
शनिबार, आइतबारको प्रदर्शनमा भन्दा आजको प्रदर्शमा पार्टीका कार्यकर्ता बढी देखिन्थे । रास्पवाले शनिबार चिप्लेढुंगामा शक्ति प्रदर्शन गरेको थियो भने आइतबार शहीदचोकमा प्रदर्शन गर्दै सरकारको चर्को विरोध गरेको छ ।
रास्वपा सभापति लामिछानेले आफूले कुनै कमजोरी र गल्ती नगरेको भन्दै न्यायालयबाट न्याय पाउने विश्वास व्यक्त गरे ।
रास्वपाका सभापतिसमेत रहेका लामिछानेलाई पक्राउ गरेर पोखरा ल्याएसँगै अधिकांश केन्द्रीय नेता र कार्यकर्ता पोखरा आएका छन् । कार्यकर्ता आउनेक्रम जारी रहेको बताइन्छ । पार्टीले प्रत्येक जिल्लाबाट एक सय जना आउन उर्दी नै जारी गरेको छ । पोखरा आउने नेता कार्यकर्ताको व्यवस्थापन पार्टीको कास्की र गण्डकी प्रदेश समितिले गरेको छ रास्वपाले शनिबार पोखराको चिप्लेढुंगामा शक्ति प्रदर्शनसमेत गरेको थियो ।
यसअघि आइतबार रास्वपाका कार्यकर्ताले निषेधित क्षेत्र तोडेर अगाडि बढेपछि प्रहरीले भिडलाई तितरबितर पार्न शुरुमा पानीको फोहोरा र अश्रुग्याँस हानेको थियो ।
प्रहरीले गत शुक्रबार सहकारी ठगी र संगठित अपराधमा संलग्न भएको आरोपमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा पेश गरेर अनुसन्धानका लागि ६ दिन हिरासतमा राख्ने अनुमति पाएको छ । आज सरकारी वकीलको कार्यालयमा उपस्थित गराई दोस्रो दिनको बयान सकिएकोछ । अर्का अभियुक्त छविलाल जोशीलाई भने रुपन्देहीमा बयान लिईदै छ ।
रवी लामिछानेकोे पक्राउलाई लिएर रास्वपाले विरोध गरेको छ । उसले रविलाई पक्राउ गर्नु अहिलेको सरकारको प्रतिशोध भएको दाबी गरेको छ ।
तर लाखौँ नेपाली जोडिएको सहकारी ठगी आरोपमा १६ सय जना पक्राउ परी थुनामा रहँदा एक जना रवि पनि थपिएको र यो नौलो नभएको प्रतिक्रिया पनि आइरहेको छ ।
विधिको शासन भएको मुलुकमा गल्ती गर्नेले सजाय भोग्नुपर्छ भन्ने आवाज उठिरहँदा रविले भने केपी शर्मा ओली नेतृत्वको सरकार नढलुन्जेल सडक नछाड्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।




