पत्रकारहरु माथि हातपात र तोडफोडको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भिर ध्यानाकर्षण

-


     केन्द्रीय आवाज    
     कार्तिक ४ गते २०८१ मा प्रकाशित


४ कार्तिक,पोखरा
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा पोखरामा भइरहेको आन्दोलनको समाचार संकलन गर्न गएका पत्रकारहरु माथि आन्दोलनरत पार्टीका कार्यकर्ताले गरेको हातपात र तोडफोडको घटनाप्रति नेपाल पत्रकार महासंघ को गम्भिर ध्यानाकर्षण भएको छ । आज बिहान ११ बजेदेखि पोखराको शहीद चोकमा अध्यक्ष लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले निषेधाज्ञा तोड्दै प्रदर्शन गरेका थिए ।
उक्त प्रदर्शनकोे क्रममा समाचार संकलनमा गएका केही पत्रकारलाई ‘हाम्रो पार्टीविरुद्ध समाचार प्रसारण गर्ने लगायत अनर्गलरुपमा गाली गलौज गर्ने काम भएको छ । साथै प्रदर्शनकारीको तर्फबाट भएको ढुंगा प्रहारबाट एपीवान टेलिभिजनका गण्डकी व्युरो प्रमुख सागरराज तिमिल्सिना र पोखराको समाचार प्रमुख सुशान्त गाहामगर घाइते भएका छन । दुबैको हातमा चोट लागेको छ भने गाहामगरले प्रयोग गर्ने क्यामेरा समेत फुटेको छ । यसैगरी प्राइम टेलिभिजनमा प्रत्यक्ष प्रसारणमा संलग्न पत्रकारद्वय निरज तामाङ, अनिता घिमिरे र क्यामेरा पर्सन अर्जुन भण्डारीमाथि हातपात गर्नुका साथै क्यामेरा तोडफोडको प्रयास भएको छ ।
नागरिकलाई सुसूचित गराउन सञ्चारकर्ममा खटिरहेका पत्रकारमाथि एउटा स्थापित पार्टीका कार्यकर्ताबाट भएको यो हर्कत अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको प्रहार भएको भन्दै नेपाल पत्रकार महासघ केन्द्र र गण्डकी प्रदेशले छुट्टा छुटटै प्रेस विज्ञप्ति जारी गरेका छन । प्रेस विज्ञप्तिमा यो घटनाले पत्रकारको र नागरिकको संविधानप्रदत्त अधिकारमा हस्तक्षेप भएको ठहर गर्दै पत्रकार महासंघ घटनाको कडा शब्दमा भत्र्सना गर्दछ । साथै घटनामा संलग्नमाथि तत्काल कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइ पत्रकारलाई निर्धक्क र निर्वाध रुपमा समाचार संकलन, प्रकाशन एवं प्रशारणको वातावरण निर्माण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै महासंघले संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रताको ख्याल गरी त्यसलाई सम्मान गर्न सम्बन्धित पार्टीको पनि ध्यानाकर्षण गराएको छ ।