केपी ओली मात्तियो, गगन थापा तिमी पनि नाङ्गियौ ः प्रवक्ता झा

-


     केन्द्रीय आवाज    
     कार्तिक ३ गते २०८१ मा प्रकाशित


कार्तिक ३ पोखरा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एबं पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउको विरोधमा पोखरामा बृहद प्रदर्शन भएको छ ।
लामिछाने पक्राउको बिरोधमा संवोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले आफूहरु देश परिवर्तन गर्न आएको भन्दै चुप लागेर नबस्ने बताएका छन् । देश परिवर्तनका लागि केही नेता गोलीदेखि डराएनन् भने आफूहरु केही चम्चाको गाली देखि नडराउने बताए । सभापति रवि लामिछाने पक्राउको विरोधमा पोखरामा भएको प्रदर्शनलाई संवोधन गर्दै उनले यस्तो बताएका हुन् ।
पोखरा र काठमाडौँमा केपी ओली र गगन थापाका सचिवालयका कर्मचारी पनि सहकारी पीडितका मुकुण्डो ओडेर आफूहरुको आन्दोलनमा उभिन आएका झाले बताए ।
उनले चुनौति दिँदै भने, ‘नेपाली कांग्रेसमा देशको सम्पत्ति हिनामिना गरेका मान्छे कोही छैनन् भनेर छाती खोलेर गगन थापाले भन्न सक्छन् ?’
उनले थपे, ‘यो देशमा नयाँ पुस्ताले राजनीति गर्नुपर्छ भनेर २० वर्षदेखि राजनीति गर्दै आएको मान्छे, एउटा नयाँ दल केही पढेलेखेका मान्छे, केही नयाँ राजनीतिक अभ्यास गर्ने मान्छे आउने चाहना गर्दै गर्दा उ आत्तियो र ओलीको सङ्गतमा मात्तियो, तिमीलाई धन्यवाद छ गगन थापा तिमी पनि नाङ्गियौ ।’
‘भ्रष्टहरुलाई रगत चाहिको छ भने रगत दिन्छौँ, सहिद चाहिन्छ भने सहिद दिन्छौँ तर यो देश परिवर्तन गरेरै छाड्छौँ’, उनले उद्घोष गरे ।
उनले भने, ‘यिनीहरू केवल रवि लामिछानेको चर्चा गर्छन्, किनकि यो राजनीतिक प्रतिशोध र कुण्ठा हो, कसैको भविष्य र अवसर सुनिश्चित गर्ने, केपी शर्मा ओलीको कुण्ठाको कारण हो ।’

झाले रास्वपाले ८७ अर्बको कुरा गर्न सरकारलाई भनेको तर सरकार ३ करोडमा अड्किएको आरोप लगाए । उनले भने, ‘म सहकारी पीडित साथीहरूलाई पनि भन्न चाहन्छु, यिनीहरूको सहकारी समस्या समाधान गर्ने उद्देश्य भएको भए ८७ अर्बको चर्चा गर्थे तर यिनीहरू ८७ अर्बको चर्चा गर्दैनन् ।’
यसअघि पार्टीका नवलपुर सभापति नरेश्वर लामिछानेले वास्तविक सहकारी ठगलाई जोगाउन सभापति लामिछानेलाई पक्राउ गरिएको आरोप लगाए । उनले सचेत नागरिक आफूहरुको साथमा उभिनुपर्नेमा जोड दिए । आफूहरुको आन्दोलन सबै सचेत नागरिकको भएको उनले स्पष्ट पारे ।
उनले भने, ‘आफूहरुको अभियान रवि लामिछाने छुटाउनेमात्र होइन सबै विकृति र विसंगति विरुद्ध हो ।’ कानूनी राज्य स्थापना गर्ने उद्देश्यसहित आफूहरुले अभियान चलाएको लामिछानेले बताए । उनले रवि लामिछानेलाई थुनेर सरकारले राजनीतिक प्रतिशोध राखेको स्पष्ट पारे । यसअघि कार्यकर्ताले सभापति रवि लामिछाने पक्राउको पोखरामा विरोध प्रदर्शन गरेका थिए । पोखराको चिप्लेढुंगास्थित मानवअधिकारचोकमा नारावाजीसहित विरोध गरेका हुन् ।

प्रदर्शनमा कार्यकर्ताले ‘वास्तविक सहकारी ठगलाई कार्वाही गर’, ‘रविलाई न्याय दे’, ‘नडराउनु रवि दाइ, जनता तिम्रो साथमा छन्’, ‘सहकारी पीडितलाई न्याय दे’, ‘राजनीतिक प्रतिशोध बन्द गर’, ‘भ्रष्ट र दलाल सरकार मुर्दाबाद’, ‘भ्रष्ट सरकार चाहिँदैन’, ‘न्याय मार्न पाइँदैन’ जस्ता नारा लगाएका थिए ।
रास्वपाका कार्यकर्ताले कांग्रेस उपसभापति धनराज गुरुङ र सांसद ऋषिकेश पोखरेल वास्तविक सहकारी ठग हुन भन्दै फोटो प्रदर्शन समेत गरिरहेका छन् ।
लामिछानेलाई शुक्रबार साँझ पक्राउ गरी पोखरा ल्याइएको छ । लामिछाने हाल कास्की प्रहरी हिरासतमा रहेका छन् ।
उनलाई भीआइपी सुविधा प्रदान गरिएको छ । उनलाई आइतबार अदालतमा उपस्थित गराइने कास्की प्रहरीको तयारी छ ।
पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा छानविन गर्न उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।