बाढी वितण्डाः देशभरमा ७६ जनाको मृत्यु, ७२ जना बेपत्ता

-


     केन्द्रीय आवाज    
     असाेज १२ गते २०८१ मा प्रकाशित


आश्विन १२ पोखरा
अविरल बर्षासँगैको बाढी पहिरोमा मृत्यु हुनेको संख्या ७६ जना पुगेको छ । यस्तै ७२ जना बेपत्ता र ३६ जना घाइते भएको सशस्त्र प्रहरीले शनिबार राति जनाएको छ ।

यस्तै देशभर एक सय ९५ ठाउँमा भौतिक क्षति भएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । उपत्यकाको काठमाडौँ, ललितपुर र भक्तपुर तीन वटै जिल्लामा २३ वटा बोट र गोताखोरसहित ९० स्थानमा करीब चार हजार जनशक्ति परिचालित भई एक हजार चार सय ५७ जनाको सकुशल उद्धार गरिएको उनले बताए । उनका अनुसार उपत्यकामा ३४ जनाको मृत्यु, २१ जना वेपत्ता र १५ जना घाइते भएका छन् । यसैगरी कोशी प्रदेशको पाँचथर, ओखलढुङ्गा, धनकुटा, झापा, मोरङ, सोलुखुम्बु र सुनसरीमा गरी आठ सय ५३ जनाको सकुशल उद्धार गरिएको छ भने एक सय ५२ स्थानमा भौतिक क्षति, १० जनाको मृत्यु, नौ जना वेपत्ता र दुई जना घाइते भएका छन् ।
मधेश प्रदेशको रौतहट र महोत्तरी जिल्लामा ५५ जनाको सकुशल उद्धार गरिएको छ भने १० स्थानमा भौतिक क्षति र एक जना वेपत्ता भएका छन् । यसैगरी बागमती (उपत्यका बाहेक) काभ्रे, सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर, दोलखा, धादिङ र चितवन जिल्लामा गरी चार सय ९४ जनाको सकुशल उद्धार गरिएको छ भने ३१ स्थानमा भौतिक क्षति, २९ जनाको मृत्यु, १९ जना घाइते र ३९ जना वेपत्ता भएका छन् । यसैगरी लुम्बिनी प्रदेशको रुपन्देहीमा बाढिमा परी २ जना वेपत्ता भएको उनले बताए । नेपालका विभिन्न जिल्लाहरुमा भएको घटनामा खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपालबाट १० हजार पाँच सय ४० जना जनशक्ति परिचालि गरिएको उनले बताए ।