दुई महिनामा मनसुनजन्य विपदका घटनाबाट अहिलेसम्म १९३ जनाले ज्यान गुमाए ।

-


     केन्द्रीय आवाज    
     भाद्र ६ गते २०८१ मा प्रकाशित


भदौ ६, काठमाड.डौ

नेपालमा मनसुन भित्रिए यता दुई महिनामा मनसुनजन्य विपदका घटनाबाट अहिलेसम्म १९३ जनाले ज्यान गुमाए । बिहीबार बिहान ८ बजेसम्मको विवरणअनुसार अविरल वर्षा, पहिरो, चट्याङ तथा बाढीका कारण १९३ जनाको मृत्यु भएको छ । यो विवरण नेपालमा मनसुन भित्रिएको समय अर्थात् गत जेठ २८ गते यताको हो । बाढीकै कारणले मात्रै ५० जनाले, पहिरोले २२ जनाले, अविरल वर्षाका कारण एक जना र चट्याङले लागेर १५ जनाको मृत्यु भएको हो ।
यसरी ज्यान गुमाउनेहरूमा सबैभन्दा धेरै पुरूष रहेका छन् । जस अनुसार पुरूष ८२, महिला ५५, बालक २१ र बालिका ३५ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । त्यस्तै दुई महिनाको अवधिमा भएको विभिन्न प्रकारका विपदका घटनाबाट २४६ जना घाइते भएको जनाईएकोछ । जसमध्ये १०९ जना पुरूष छन भने ७६ जना महिला, २१ जना बालक र ३० जना बालिका घाइते छन ्।
त्यस्तै विपदका घटनामा परी ४९ जना मानिसहरू बेपत्ता छन ्। बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ । गत असार २८ गते चितवनको मुग्लिन सडकखण्डमा भरतपुर महानगरपालिका–२९ सिमलतालमा खसेको दुई वटा बसमा सवार ४२ जना अझै बेपत्ता छन । त्यहाँ बेपत्ता भएका मध्ये २४ वटा शव फेला परेको थियो । २० जनाको सनाखत भई परिवारले बुझिसकेका छन् भने ४ जनाको अझै सनाखत हुन बाँकी छ । मानवीय क्षतिसँगै चौपाया र भौतिक संरचनामा समेत क्षति पुगेको छ । चौपाया मात्रै ८७५ वटा, ३३९ वटा घर, ११९ वटा गोठमा क्षति र १२२१ वटा घर विस्थापित भएका छन् । ५ वटा विद्‍यालय, ५१ वटा पुल र दुई वटा सरकारी कार्यालयमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीका अनुसार पछिल्लो २४ घण्टामा चार जना मानिस घाइते भएका छन् भने ६ वटा घर र ३ वटा गोठमा क्षति पुगेको छ र ३१ परिवार विस्थापित भएको जनाईएकोछ ।