ब्राजिलमा विमान दुर्घटना, ६२ जनाको मृत्यु

-


     केन्द्रीय आवाज    
     श्रावण २६ गते २०८१ मा प्रकाशित


साउन २६ पोखरा
ब्राजिलमा विमान दुर्घटना हुँदा चालक दलका चार सदस्यसहित ६२ जनाको मृत्यु भएको छ । ब्राजिलको साओपाउलोमा ५८ यात्रु र चालक दलका चार सदस्य बोकेको विमान दुर्घटना भएको बीबीसीले जनाएको छ । विन्हेडो सहर नजिकै रहेको वैलिनहोसका स्थानीय अधिकारीहरूले विमानमा सवार सबैको मृत्यु भएको बताएका छन् । वोएपास एयसलाइन्सका अनुसार दुई इन्जिन भएको टर्बोप्रप विमान दक्षिणी राज्य परानाको कास्केभेलबाट साओपाउलो सहरको मुख्य विमानस्थलका लागि उडेको थियो ।
दुर्घटनामा कोही पनि बाँच्न नसकेको स्थानीय अधिकारीहरूले बताएका छन् । विमान खसेको आवासीय क्षेत्रमा कोही पनि घाइते नभएको अधिकारीहरूले जानकारी दिएको बीबीसीले बताएको छ ।
सामाजिक सञ्जालमा पोष्ट गरिएका धेरै भिडियो फुटेजमा विमान घुमिरहेको र सिधै तल खसेको देखिन्छ । स्थानीय अधिकारीहरूले विमान आवासीय क्षेत्रमा खसेको बताएका छन् ।
घटनास्थलमा प्रहरी र दमकल पुगेका छन् भने स्थानीय अस्पताललाई सचेत गराइएको छ ।
दुर्घटनाको खबरपछि ब्राजिलका राष्ट्रपति लुला दा सिल्भाले एक कार्यक्रममा एक मिनेट मौन धारण गरेका थिए । सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले दुर्घटना धेरै दुखद् भएको बताएका छन् ।