
साउन २३ सुर्खेत
नेपाल फोटोग्राफर महासंघको पहिलो बैठक सुर्खेतको बिरेन्द्रनगरमा सम्पन्न भयो । महासंघको पहिलो बैठक मै १ लाख रुपैया बराबर अक्षयकोषको घोषणा सहित बैठक सम्पन्न भयोे ।
फोटोग्राफरहरुको हक हित तथा बृतबिकासका लागि स्थापना गरिएका अक्ष्यकोषहरु मध्येमा महासंघका अध्यक्ष महेन्द्र प्रसाद उपाध्यायबाट आफ्ना स्वर्गीय पिताको स्मृतीमा रु ५० हजार, दाड. उद्योग बाणिज्य संघका अध्यक्ष तथा महासंघका उपाध्यक्ष बसन्त जोशीबाट आफ्ना स्वर्गीय पिताको स्मृतीमा रु २५ हजार साथै महासंघका केन्द्रिय सदस्य कालिका प्रसाद रिमालबाट आफ्ना स्वर्गीय पिताको स्मृतीमा रु २५ हजार गरि रु १ लाख बराबरको अक्षयकोषको घोषणा गरिएको छ । साथै सो कार्यक्रममा लुम्बिनी फोटोग्राफर संघले पनि संघका सदस्य स्वर्गीय लिखिराम चौधरीको स्मृतीमा अक्षयकोष स्थापना गर्ने घोषणा समेत गरेको छ ।

आधिकारीक रुपमा महासंघ दर्ता पछिको पहिलो बैठकमा महासंघका अध्यक्ष महेन्द्र प्रसाद उपाध्यायले देशभर छरिएर रहेका फोटोग्राफरहरु तथा फोटोग्राफी संघसंस्थाहरुलाई एकै सुत्रमा बाध्ने र फोटोग्राफरको हितका लागि ब्यवसायिक दक्षता अभिबृद्धि गर्नेबारेका बिभिन्न योजना तथा प्रस्तावहरु प्रस्तुत गरेका थिए । साथै बैठकले नेपाल फोटोग्राफर महासंघको हालै दर्ता भएको बिधान अनुमोदन गर्नुको साथै उक्त बिधानमा छुट भएका बिषयहरु र थप गर्नुपर्ने बिषयहरुका बारे छलफल गरेको थियो ।
साथै बैठकले महासंघलाई सक्रिय सुचारु गराउन र महासंघको उद्येश्य बमोजिम कार्यक्रम गर्न बिबिध विषयमा निर्णय गर्नुको साथै संस्थाका आर्थिक अवस्था सुधारका लागि महासंघका कोषाध्यक्ष तुलसी राम सुवेदीको संयोजकत्वमा १२ सदस्यीय आर्थिक उपसमिति गठन गरेको छ भने सबै फोटोग्राफरहरुलाई समेटेर लैजाने हेतु र बिधानमा भएका त्रुटिहरु सच्याउनका लागि महासंघका अध्यक्ष महेन्द्र प्रसाद उपाध्यायको संयोजकत्वमा बिधान मसौदा संसोधनका लागि १२ सदस्यीय बिधान मसौदा संसोधन समिति समेत गठन गरेकोे छ ।
सुर्खेतमा भएको नेपालका बिभिन्न जिल्लाका फोटोग्राफर संघका प्रतिनिधी तथा प्रदेश प्रतिनिधी र केन्दिय तदर्थ समितिका प्रतिनिधीहरुको बृहत भेलाले महासंघलाई नेपालका ७७ वटा जिल्लामा संस्था बिस्तार गराउने छलफल भएको छ ।
उत्त कार्यक्रममा संस्थापक जिल्ला संघहरुलाई सस्थापक सदस्यताको प्रमाणपत्र समेत प्रदान गरिएको थियो भने पुराना तथा नया महासंघमा आबद्ध जिल्ला संघका अध्यक्षहरुलाई पदेन केन्दिय सदस्यमा मनोनयन गरिएको थियो ।
साथै सो कार्यक्रममा कार्यक्रम ब्यवस्थापनका लागि सुर्खेत फोटोग्राफर समितिको तर्फबाट रु ५० हजार, बरिष्ठ उपाध्यक्ष श्रीराम कडेलको तर्फबाट रु १० हजार, बर्दिया फोटोग्राफर संघका अध्यक्ष निलकण्ठ गौतमका तर्फबाट रु ५ हजार आर्थिक सहयोग प्राप्त भएको थियो ।

कार्यक्रममा केन्द्रिय सल्लाहकार तथा सुर्खेत फोटोग्राफर समितीका पूर्व अध्यक्ष बसन्त कुमार थापा,केन्द्रिय सचिव गणेश दंगाल, कार्यक्रममा स्थानिय ब्यवस्थापन तथा कर्णाली प्रदेश संयोजक तथा महासंघ उपाध्यक्ष बिष्णु भुषाल, सुदुर पश्चिम संयोजक तथा उपाध्यक्ष भूवन जोशी, लुम्बिनी प्रदेशका संयोजक तथा उपाध्यक्ष बसन्त जोशी, गण्डकी प्रदेश अध्यक्ष तथा महासंघ उपाध्यक्ष दुर्गा प्रसाद पौडेल, बरिष्ठ उपाध्यक्ष श्रीराम कंडेल लगायतले आआफ्नो धारणा प्रस्तुत गरेका थिए ।
महासंघका अध्यक्ष महेन्द्र प्रसाद उपाध्यायको सभापतित्वमा संचालित उक्त कार्यक्रममा स्थानिय ब्यवस्थापन समिति तथा सुर्खेेत फोटोग्राफर समितिका पूर्व अध्यक्ष तथा केन्द्रिय सदस्य केशर बहादुर थापाले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रम सञ्चालन महासंघका महासचिव डिगम्बर राजबंशीले गरेका थिए ।

साथै सोही कार्यक्रममा नेपालभरबाट आएका फोटोग्राफरहरु बिच फोटोग्राफर संघ गण्डकी तथा पोखरा फोटोग्राफर संघ द्धारा संचालित पोखरा फोटोग्राफी अर्वाड तथा मिराज राष्ट्रिय बैवाहिक फोटोप्रतियोगिता साथै नेचर एण्ड लैण्डस्केप फोटोप्रतियोगिता बारे पनि जानाकारी गराईएको थियो । फोटोप्रतियोगिताको प्रचार प्रसारका लागि कार्यक्रम स्थलमा नै स्टल राखेर प्रतियोगिताका पोस्टर ब्यानर राखिएको थियो भने पोखराका अग्रज फोटोग्राफर विश्वरत्न शाक्य द्धारा लिखित फोटोग्राफी बारेको पुस्तक समेत प्रदर्शन गरिएकोे थियो ।






