
श्रावण १७ पोखरा
लामो समय देखि पोखरामा रहेर पत्रकारितामा क्रियाशील रहदै आएका दीपेन्द्र श्रेष्ठ र नवलपुरमा रहेर पत्रकारितामा सक्रिय कमला रानालाई यस बर्षको ‘ कञ्चन पत्रकारिता पुरस्कार–२०८१’ बाट पुरष्कृत गरिने भएको छ ।
पोखराका प्रतिष्ठित व्यवसायी विमलमान गुभाजु र उनका परिवारले आफ्ना स्व. बावुआमा वेदमान गुभाजु र नेत्रकुमारी गुभाजुको स्मृतिमा स्थापना गरेर नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीले यो पुरस्कार संचालन गर्दै आएको छ ।
उक्त पुरष्कारबाट पुरष्कृत हुने श्रेष्ठ हाल पोखराको एभरेष्ट एफ.एममा कार्यरत छन् । उनी नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष एबम नेपाल पत्रकार महासंघ कास्की र गण्डकी प्रदेशका सल्लाहकार समेत हुन भने रानामगर नवलपुरको मध्यविन्दु एफ.एममा कार्यरत छिन् । उनी नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) की संघीय सदस्य एबम फोनिज गण्डकी प्रदेशकी संस्थापक उपाध्यक्ष पनि हुन ।
प्रतिभा छनोट समितिले गरेको सिफारिस अनुसार फोनिज गण्डकीको बिहीबारको बैठकले श्रेष्ठ र रानामगरको नाम अनुमोदन गरेको फोनिज गण्डकी महासचिव धनबहादुर गुरुङले जानकारी दिए ।
फोनिजका संघीय सल्लाहकार हुमबहादुर तमुको संयोजकत्वमा रहेको प्रतिभा छनोट समितिको सदस्यमा फोनिज गण्डकीका इन्चार्ज एमबी आस्था मगर, सल्लाहकार शान्ति गुरुङ, फोनिज गण्डकी अध्यक्ष रुद्र श्रीस मगर र महासचिव धनबहादुर गुरुङ रहेका थिए। उनीहरुलाई फोनिजको स्थापनाका दिवसका दिन साउन २७ गते पोखरामा आयोजना गरिने समारोहमा पुरस्कृत गरिनेछ। पुरस्कारको राशि जनही २५ हजार र सम्मानपत्र रहेको छ ।
गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाई क्रियाशील रहने दुई पत्रकारलाई हरेक वर्ष यो पुरस्कार प्रदान गरिँदै आएको छ। यसअघि कास्कीका रुद्रबहादुर थापा, शान्ति गुरुङ, उदयबहादुर अमात्य, हुमबहादु तमु, बागलुङका राजेशचन्द्र राजभण्डारी, नवलपुरका केबी राना, लमजुङका आश गुरुङ र मुस्ताङका सुन्दरकुमार थकालीलाई यो पुरस्कार बाट सम्मान गरिएको छ ।




