
श्रावण ८ पोखरा
एसिया कप महिला क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार बेलुकी ७ः१५ बजे शुरु हुनेछ ।
यो खेल जितेका खण्डमा मात्रै नेपालले सेमिफाइनलको यात्रा तय गर्न सक्छ । नेपालले दोस्रो खेलमा पाकिस्तानसँग कमजोर प्रदर्शन गरेसँगै सेमिफाइनल सम्भावना कमजोर बनेको हो । नेपाल पाकिस्तानसँग ९ विकेटको फराकिलो अन्तरले पराजित भएको थियो । यसअघि नेपालले पहिलो खेलमा यूएईमाथि ६ विकेटको जित हासिल गरेको थियो । तर पाकिस्तानसँगको हारसँगै नेपालको सेमिफाइनल सम्भावना कमजोर बनेको छ । नेपाल सेमिफाइनलमा पुग्नका लागि नेपालले भारतलाई हराएर मात्र पुग्ने छैन यसअघिको पाकिस्तान र यूएई बीचको खेलमा यूएई विजयी हुनुपर्नेछ । यूएई सबैभन्दा कमजोर टिम हो । यो अवस्थामा यूएईले पाकिस्तानलाई हराउने सम्भावना देखिन्छ ।
यद्यपि यूएईले पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेका खण्डमा मात्रै नेपालको सम्भावना हुन सक्छ । त्यसका लागि नेपालले भारतलाई हराउनै पर्छ । भारतलाई हराउन नसकेका खण्डमा पाकिस्तानलाई यूएईले हराए पनि रन रेटमा पाकिस्तान अगाडि हुन सक्छ ।
रन रेटमा हेर्ने हो भने भारत २ खेलमा ४ अंकसहित समूह ए को शीर्ष स्थानमा छ । उसको ३ दशमलव३८६ रेट रन रेट रहेको छ । भारत नेपालसँग पराजित भए पनि उसको सेमिफाइनल सम्भावना निश्चित छ । किनकि नेपालले भारतलाई हराए पनि भारतको रनरेटलाई भेटाउन सक्दैन ।
अर्कातर्फ पाकिस्तानको २ खेलमा २ अंक छ । उसको नेट रन रेट ०दशमलव४०९ रहेको छ । नेपालको २ खेलमा २ अंक छ र नेट रन रेट माइनस ०दशमलव८१ छ । पुछारको यूएईको २ खेलमा कुनै अंक छैन र नेट रन रेट माइनस २दशमलव८ छ ।
यसरी कायापलटको परिणाम ल्याउँदै नेपालले भारतलाई र यूएईले पाकिस्तानलाई हराएमात्र नेपाल सेमिफाइनलमा पुग्न सक्छ । अन्यथा नेपालको सम्भावना निकै कम छ ।
समूह बीबाट ४ अंकसहित श्रीलंका सेमिफाइनलमा पुगिसकेको छ भने २–२ अंकका थाइल्याण्ड र बंगलादेशमध्ये एक टिम सेमिफाइनलमा पुग्नेछ ।






