
२८ असार काठमाडौँ,
प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि पुष्पकमल दाहाल प्रधानमन्त्रीबाट पदमुक्त भएका छन् । उनले प्रतिनिधिसभामा बहुमत प्राप्त गर्न सकेनन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उपस्थित २५८ मध्ये दाहालको पक्षमा ६३ मत मात्र प¥यो । प्रधानमन्त्री बन्नका लागि आवश्यक १३८ मत प्राप्त नभएपछि उनी पदमुक्त भएका हुन् । उनको विपक्षमा १९४ मत प¥यो । मत दिन्न भन्नेमा १ मत परेको थियो ।
दाहालले सरकारको नेतृत्व गरेको १८ महिनाको अवधिमा शुक्रबार पाँचौं पटक संसद्बाट विश्वासको मत लिएका थिए । १८ महिनामा एमालेसँग दुई र कांग्रेससँग एक पटक गरेर तीन पटक गठबन्धन बदलेका प्रधानमन्त्री दाहालले कांग्रेस र एमालेबीच सत्ता साझेदारीका लागि सातबुँदे सहमति भएपश्चात् विश्वासको मत लिन शुक्रबार प्रतिनिधि सभामा उपस्थित भएका थिए ।
संसद्का दुई ठूला दलबीच संविधान संशोधनलगायत सरकारको नेतृत्वमा आलोपालो गर्ने गरी असार १७ मा सातबुँदे समझदारी भएपछि सरकारमा सहभागी एमाले र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिएका थिए । त्यसपछि अल्पमतमा परेका दाहालले राजीनामा नदिएर संवैधानिक सुविधाबमोजिम विश्वासको मत लिएका हुन् ।
यसअघि आलोपालो कांग्रेस र एमालेको समर्थनमा चार पटकसम्म विश्वासको मत प्राप्त गर्न सफल दाहाल यस पटक भने असफल भए ।





