स्वास्थ्य बीमाबाट गरिने उपचार महड.गो बन्दै, साउन १ बाट लागू हुने

-


     केन्द्रीय आवाज    
     असार २७ गते २०८१ मा प्रकाशित


असार २७ ,पोखरा
स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत उपलब्ध गराइने ‘सुविधा थैली’ को सेवासुविधा परिमार्जित गरेको छ ।
बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लले विज्ञहरुको सुझाव अनुसार र बजारको अवस्थालाई हेरेर सुविधा थैलीको सेवा सुविधाको नयाँ दर कायम गरिएको बताए । उनका अनुसार सुविधाको नयाँ थैली आगामी साउन १ गतेदेखि लागू गरिनेछ ।
उनले लामो समयदेखि एउटै दरमा उपलब्ध सेवासुविधालाई समयानुकूल परिमार्जन गरिएको बताए ।
यसअघि आंशिकरुपमा परिमार्जन गरिए पनि यसपटक भने सबै सेवासुविधाको दर परिमार्जन गरिएको हो । नयाँ सुविधा थैलीमा स्वास्थ्य बीमाअन्तर्गत एक हजार दुई सय ९० प्रकारका औषधि रहेका छन् ।
अस्पताल टिकट रु ५० तोकिएको छ । शय्याको प्रतिदिन रु २ सय ५० राखिएको छ । यसअघि साधारण शय्याको रु २ सय थियो ।
स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत पाँच जना परिवारसम्मका लागि रु ३ हजार ५ सय बराबरको योगदानका आधारमा रु १ लाख सम्मको स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइन्छ ।
यस्तै थप प्रतिसदस्य रु ७ सयका दरले योगदान रकम थपिँदै जाने र प्रति सदस्य रु २० हजार बराबरको सेवा सुविधा थपिने प्रावधान रहेको छ । स्वास्थ्य बीमा कार्यक्रमको अधिकतम् सेवा सुविधाको सीमा रु २ लाखसम्म तोकिएको छ ।
बीमा कार्यक्रममा कूल बीमित परिवार सङ्ख्या २३ लाख ९२ हजार छ सय ७६ जना र कूल बीमित जनसङ्ख्या ७७ लाख ४१ हजार चार सय ८३ जना (२६ दशमलव ५४ प्रतिशत) रहेको छ ।