
असार २० पोखरा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकाललाई कार्वाही गरेको छ । कार्वाही स्वरुप उनलाई पार्टीले एक हप्ताका लागि निलम्बन गरेको बताइएको छ ।
बुधबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टी अनुशासन विपरीत अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै सात दिनका लागि निलम्बन गरेको हो ।
ढकालले आफू पार्टीबाट अपमानित भएको भन्दै आफूले तयार गरेको प्रतिवेदन सार्वजनिक गर्न र केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण गर्न आग्रह गरेका थिए । उनको प्रस्तावलाई पार्टी बैठकले सर्वसम्मतरुपमा अस्वीकार गर्ने निर्णय गरेको थियो ।
सभापतिको प्रस्तावमा अर्को व्यवस्था नहुन्जेलसम्मका लागि पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र पार्टी सहप्रवक्ता मनिष झालाई कार्यवाहक प्रवक्तासमेत तोकिएको छ ।
यस्तै रास्वपाले ढकाललाई थप कारबाही गर्न प्रतिवेदनसहित केन्द्रीय समितिमा सिफारिस गर्न अनुशासन आयोगलाई निर्देशन दिने निर्णय गरेको छ ।
केन्द्रीय समितिको बैठकमा पार्टी महामन्त्री ढकालले पार्टी अनुशासनविपरीत अभद्र, अमर्यादित व्यवहार प्रदर्शन गरेको र पार्टीको छविमा प्रतिकूल प्रभाव पार्ने अभिव्यक्ति दिँदै हिँडेको आरोप केन्द्रीय समितिले लगाएको छ ।
कार्वाहीको पत्र राखेर ढकालले लेखेको स्टाटस
२ वर्षदेखि सभापतिको कुरालाई किन गलत भनिनस् भनेर सोधिन्छ । मलाई लाग्यो उहाँले देश बनाउनु हुन्छ , उहाँको कुरा मान्नुपर्छ । कति कुरा गलत लाग्दा लाग्दै मानिदिए, केन्द्रीय समितिको बैठकमा केहि कुरा पेलेरै लागू गरिदिए । पेल्ने मान्छे म थिए, वा म केवल एक पात्रको रूपमा थिए र त्यसको पछाडी अरू कोहि थियो , त्यो आजको बैठकले छर्लङ्ग भएको छ । प्रचण्डसँग सहमति गरेर आइसकेपछी, मलाई सरकारमा जाने भन्नु भयो । मैले उहाँको आदेश अनुसार प्रस्तुति दिए, मैले सोचे , मेरो कर्तव्य हो , र यो मान्छेले देश बनाउँछ साथ दिनपर्छ । तर सरकारमा पुगेपछीका कुराहरूका कारण, मलाई शङ्का लाग्यो – यो मान्छेले देश बनाउँछ वा बनाउँदैन । जनताले जे भने , त्यहि बोलिदिए । सोचे , कुर्सीको न्यानोले छोपेको , गाडीको कालो सिसाहरूले घेरिएको हुनुहुन्छ , सचेत गराउनपर्छ । मैले सोचे, नेता होइन, राजनेता बनाउनपर्छ , नेता मात्र त चङ्गुलमा फँसे । विगत लामो समयदेखी परिचित भएकाले, मलाई महामन्त्रीबाट हटाउँछन् भन्ने लागेकै थियो । पद गौण हो , जनताका कुरा बोलिदिँदा कारवाहि भए पनि बोल्नपर्छ लाग्यो र बोले । सरकारमा हुँदा प्रतिवेदनहरू कसरी लुकाइए देखेको मैले , मिडियाबाजी गर्न बाध्य भए । मलाई शङ्का लाग्यो, प्रतिवेदनलाई फास्स फुस्स गर्छन् , पार्टी बिग्रिसक्यो , सुधार्दैनन् । जनताको कुरा जस्ताको तस्तै बोलिदिएकोमा आज मलाई कारवाहि भएको छ । बालहठ जस्तो होस् , अस्वभाविक लागोस्, वा अव्यवहारीक जनताले जसरी बताए त्यसरी नै बताइदिए । प्रतिवेदन सार्वजनिक भएपछी पढेर विचार गर्नुहोला नै । जनताको आवाज बोल्दा यो पटक रवि लामिछानेको विरूद्ध बोलेको हुन्थ्यो , उहाँ पनि जनताकै पक्षमा होला सोचेर , बोलिदिए । जनताको पक्षमा बोल्नपर्छ, सत्य त्यहि हो बुझेकाले सत्यको पक्षमा बोलिदिएँ । बोलेकै आधारमा आज मलाई पार्टीले निलम्बन पत्र थमाएको छ ।

अरू पनि भनिदिऔँ, अरू के के गर्नुहुन्छ अब भनेर । अब उहाँको एउटा फेसबुक स्ट्याटस आउन सक्छ । केहि परिचालित व्यक्तिहरू छन् , पक्षमा स्ट्याटसहरू लेख्न लगाउन सक्नुहुन्छ । एक स्टेप अघि बढेर मिडियामा “प्रमाण सहित“ यो , त्यो भनेर मेरो चरित्र हत्या हुने गरि केहि हल्ला फैलाउने प्रयास गर्नुहुन्छ । आज बैठकमै भनिसक्नु भयो , मिडिया क्षेत्रको हेडमास्टर हो म । सबै प्रकारका प्रश्नहरूको जवाफ, आरोपहरूको जवाफ दिन सक्छु । पर्यो भने “लाइ डिटेक्सन टेस्ट“ दिन पनि तयार छु । पदिय मर्यादामा रहँदा केहि राजनीतिक व्यक्तिको नाताले गरेको छु , त्यो पनि आदेशले , हल्ला फैलाउने हो भने डिफेन्सका लागी म तयार छु । त्यसपछी , पत्रकारहरूको प्रश्नमा उहाँले जवाफ दिनुहुन्छ , कहाँ मैले कार्वाहि गरेको , सम्पूर्ण केन्द्रीय समिति सदस्यको मतले कारवाहि गरेको । मैले लोकतन्त्र मान्न पर्छ, पार्टीको विधि, पद्दति मान्न पर्छ ।




