प्रधानमन्त्री दाहालसँग भारतीय सङ्घीयमन्त्री जयशङ्करको भेटवार्ता

-


     केन्द्रीय आवाज    
     जेठ २८ गते २०८१ मा प्रकाशित


नया दिल्लीँ, २८ जेठ
छिमेकी मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका नवनियुक्त सङ्घीयमन्त्री एस जयशङ्करले शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री दाहाल बसेको होटल ताजमा आज भएको भेटमा उनिहरूबीच द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र विगतमा भएका सम्झौता एवं समझदारी कार्यान्वयनका विषयमा छलफल भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

सो अवसरमा प्रधानमन्त्री दाहालले भारतको मन्त्री पदमा नियुक्त भएकोमा जयशङ्करलाई हार्दिक बधाई एवं कार्यकालको शुभकामना व्यक्त गरे । उनले आगामी दिनमा दुई देशबीच रहीआएको आपसी एवं जनस्तरको सम्बन्ध थप प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरे ।

त्यसैगरी मन्त्री जयशङ्करले प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुनुभएकोमा प्रधानमन्त्री दाहाल र नेपाल सरकारलाई धन्यवाद व्यक्त गरे । उनले दुई देशबीच भएका सम्झौता एवं समझदारीको कार्यान्वयनमा भारत सरकार गम्भीरतापूर्वक लागेको र सन्तोषजनक प्रगति भइरहेको जानकारी गराएका थिए ।

भेटमा प्रधानमन्त्रीका सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत भारतस्थित नेपाली राजदूतावासका उच्च अधिकारी तथा भारतको विदेश मन्त्रालयका उच्चअधिकारीहरू सहभागी थिए ।