
जेष्ठ २० पोखरा
पत्रकार विजय नेपाल ‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार(२०८०’ बाट पुरस्कृत भएका छन् । उद्योगपति तथा समाजसेवी जितप्रसाद द्वा परिवारले स्थापना गरेको उक्त पुरस्कार चलचित्र पत्रकार संघ कास्कीले सञ्चालन गर्दै आएको छ ।
संघको शनिबार छैटौं साधारणसभा अवसरमा पोखराका मेयर धनराज आचार्यले नगद ३५ हजार रुपैयाँ र सम्मानपत्रसहित पत्रकार नेपाललाई पुरस्कृत गरे । पाल्पा रिब्दीकोट ७, मैनादीका नेपाल २० वर्षदेखि पत्रकारितामा क्रियाशील छन् । संघका पूर्वसहसचिव उनी राजधानी र आदर्श समाज दैनिकमा समेत कार्यरत छन् ।

उनले अंग्रेजी साहित्यमा एमए र एलएलबी गरेका छन् । यसअघि सो पुरस्कार श्रीराम सिग्देल, रेम विक र राजाराम पौडेललाई दिइएको थियो । फिल्म क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै समारोहमा फिल्मकर्मी विनोद शेरचनलाई संघले सम्मान गरेको छ ।
संघ कास्की अध्यक्ष प्रभू अधिकारीको अध्यक्षतामा भएको समारोहमा पत्रकार महासंघ केन्द्रीय सदस्य सरिता तिमिल्सिना ‘पगेनी’, महासंघ गण्डकी महासचिव गोविन्द सुवेदी, महासंघ कास्की अध्यक्ष बिमला भण्डारी, प्रतिभा छनोट समिति संयोजक एवं संघ सल्लाहकार सुरेश रानाभाट, सम्मानित व्यक्तित्व शेरचन, पुरस्कृत नेपाल लगायतले बोलेका थिए ।




