
पोखरा १६ जेष्ठ
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभामा सबैभन्दा ठूलो दलको हैसियतमा नेता पाण्डेलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
सर्वोच्च अदालतले सोमबार ४८ घण्टा भित्र ठूलो दलको हैसियतमा पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो ।
सर्वोच्च अदालतको परमादेशअनुसार पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरिएको हो । मुख्यमन्त्री पाण्डेले आजै साँझ पद तथा गोपनीयताको सपथ लिए । ।
यसअघिका मुख्यमन्त्री खगराज अधिकारीले ६० सदस्यीय प्रदेश सभामा ३० लाई बहुमत मानेर विश्वासको मत लिएपछि पाण्डेले सर्वोच्च अदालतमा सिट दायर गरेका थिए ।
उनले प्रदेश प्रमुख, सभामुख र मुख्यमन्त्रीलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । रिटमा उनले ३० लाई बहुमत मानेर लिइएको विश्वासको मत बदर गरी आफूलाई मुख्यमन्त्रीमा नियुक्त गर्न माग गरेका थिए । जसको फैसला गर्दै सर्वोच्चले पाण्डेले मागेझैँ विश्वासको मत बदर गरी पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
मुख्यमन्त्री पाण्डेले अब ३० दिनभित्र विश्वासको मत लिइसक्नु पर्नेछ । तर उनले विश्वासको मत पाईहाल्ने आधार भने देखिदैन । प्रदेश सभामा नेपाली कांग्रेसका २७ सांसद छन् ।
पाण्डेलाई बुहमत सिद्ध गर्न चार सांसद आवश्यक पर्दछ । पाण्डेलाई राप्रपाका दुई सांसदले समर्थन गर्ने सम्भावना छ तर पनि बहुमत पुग्ने अवस्था क्षीण छ । यस्तै, पाण्डेलाई स्वतन्त्र सांसद दीपक मनाङेले साथ दिँदा ३० पुग्छ र एक सांसद पुग्दैन ।
यस्तो अवस्थामा मुख्यमन्त्री पदबाट राजीनामा दिएर नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम फेरि मुख्यमन्त्रीमा दाबी पेस गर्ने सक्नेछन् ।
सो धारा अनुसार मुख्यमन्त्रीमा नियुक्त हुँदा र विश्वासको मत लिदा दलको ह्वीप लाग्दैन । त्यस्तो अवस्थामा नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट चुनाव जितेका नेपाल समाजवादी पार्टीका फडिन्द्र देवकोटाले समर्थन लिने मौका पाण्डेलाई हुनेछ । तर यस्तो सम्भावना पनि निकै कम छ ।
त्यसबेला पनि नेकपा माओवादी केन्द्रबाट सभामुख र एमालेबाट उपसभामुख ले साथ दिनुपर्ने हुन्छ । यदि बोलाइएको संसद बैठकमा उनीहरु उपस्थित नभईदिने हो भने कांग्रेस वा राप्रपाका कुनै एकले सभामुख भएर संसद चलाउनुपर्ने हुन्छ । जुनबेला पाण्डेको बहुमत पुग्ने सम्भावना रहँदैन ।




