पुम्दीकोटको शिव मूर्ति गण्डकी क्षेत्रकै आकर्षणः प्रदेश प्रमुख भट्ट

-


     तुलसी राम सुवेदी    
     वैशाख ३१ गते २०८१ मा प्रकाशित


पोखरा, ३१ वैशाख ।
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले पोखराको पुम्दीकोट स्थित शिव मूर्ति गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको बताए ।
यहाँको प्रमुख पर्यटकीय आकर्षण बनिरहेको पुम्दीकोटमा आइतबार अवलोकन गर्दै प्रदेश प्रमुख भट्टले विशाल शिव मूर्ति आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दा पर्यटनलाई टेवा पुगेको बताउदै सरकारले पोखरालाई पर्यटनको राजधानी घोषणा गरिसकेको सन्दर्भमा यस्ता पर्यटकीय गन्तव्यले अझ महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए । ‘विशाल मूर्तिले यहाँ पर्यटकको बसाइ लम्ब्याउनुका साथै धार्मिक पर्यटकका लागि उत्कृष्ट गन्तव्य बनाउन सहयोगी समेत बनेकोमा खुशी ब्यक्त गर्दै मन्दिरसँगै बनेका अन्य संरचनाहरुले पनि पुम्दीकोटलाई थप आकर्षक बनाउने बिश्वास ब्यक्त गरे ।
यसका परिकल्पनाकार तथा पुम्दीकोट कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले छोटो समयमै पुम्दीकोटले धार्मिक पर्यटकीय गन्तव्य स्थलका रूपमा विशिष्ट पहिचान बनाएको बताउँदै थप आकर्षकीय संरचना निर्माणको चरणमा रहेको बताएका छन ।
पोखरा महानगरपालिका वडा नं. २२ स्थित पुम्दीकोटमा निर्माण भएको ५२ फिट अग्लो शिव मूर्ति मुख्य आकर्षण रहँदा नजिकै सुमेरु पर्वत नामाकरण गरी पार्वती र कुमारको पनि मूर्ति स्थापना गरिएको छ ।
शिवको बृहत् चिनारीसहित १०८ शिवलिङ्ग, १०८ स्वर्गद्वारी सिँढी, गुरु महाराज आश्रम, हरियाली बगैँचा, शान्ति स्तम्भ, ज्येष्ठ नागरिक मिलन केन्द्र, ध्यान केन्द्र, पार्किङस्थललगायतका संरचना अधिकांश निर्मण भइसकेका छन् ।
सरकारबाट प्राप्त २२ रोपनी क्षेत्रफलमा कूल २७ करोड लगानीमा निर्माण भएको संरचनामा ७ करोड सरकारी सहयोग र अन्य २० करोड महायज्ञ, संघसंस्था, व्यक्ति तथा भक्तजनबाट संकलन गरिएको अध्यक्ष बरालले जानाकारी दिए ।
साथै यहा निजी क्षेत्रबाट साहसिक खेलहरुसहित सुविधासम्पन्न ड्रिम सिटी पुम्दी पनि सञ्चालनमा आएको छ ।
परिकल्पनाकार तथा अध्यक्ष बराल लगायत पदाधिकारीले प्रदेश प्रमुखसहित टोलीलाई स्वागत गर्दै भूमेश्वर महादेव मन्दिर, कैलाश पर्वत, सुमेरु पर्वतलगायत निर्मित संरचनाका बारेमा जानकारी समेत गराएका थिए ।
पोखराको मुख्य बजारबाट करिब १५ किलोमिटरको दूरीमा रहेको पुम्दीकोटमा पोखराबाट आधा घण्टाकै समयमा पुग्न सकिन्छ । पुम्दिकोटबाट माछापुच्छ«ेसहित,धौलागिरी, अन्नपूर्ण हिमशृङ्खला, फेवाताल, दोपहरे,निर्मलपोखरी लगायत पोखरा बजारक्षेत्रका मनोरम दृश्यको अवलोकन गर्न सकिन्छ ।