आज १३५ औं अन्तर्राष्ट्रिय मजदुर दिवस ।

-


     तुलसी राम सुवेदी    
     वैशाख १९ गते २०८१ मा प्रकाशित


पोखरा १९ बैशाख
आज मे १ तारिख १३५ औं अन्तर्राष्ट्रिय मजदुर दिवस नेपालमा पनि मनाइँदै छ । यस अवसरमा गण्डकी प्रदेश प्रमुख, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतले मजदुर दिवसको अवसरमा शुभकामना सन्देश दिएका छन् ।
शुभकामना सन्देशमार्फत् राष्ट्रपति रामचन्द्र पौडेलले श्रमिक अधिकारको रक्षार्थ सम्पूर्ण श्रमजीवीलाई एकताको सूत्रमा बाँध्न यस दिवसले सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रमिकको सम्मान गर्दै श्रम क्षेत्रको कानूनी विभेद अन्त्य गरेको बताएका छन् ।

यसैगरी सभामुख देवराज घिमिरेले सरोकारवाला सबैले श्रमिकको हितका लागि गम्भीरतापूर्वक सोच्ने र श्रमिकमैत्री वातावरण बनाउन योगदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको माग गर्दै मजदुरहरुले गरेको आन्दोलन सफल भएको स्मरणमा आज विश्वभर मजदुर दिवस मनाइन्छ ।

१७ औं शताब्दीमा भएको संघर्षले मजदुरहरुले यो अधिकार प्राप्त गरेका थिए । सन् १८८९ मा फ्रान्सको राजधानी पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताहरुको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । त्यसपछि सन् १८९० देखि हरेक वर्ष मे १ मा संसारभर मजदुर दिवस मनाउने गरिन्छ ।

नेपालमा विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको थियो पछि २०६४ सालदेखि अन्तर्राष्ट्रिय मजदुर दिवसको दिन सरकारले आधिकारिक रुपमा सार्वजनिक बिदा दिन थालेको हो ।