नेपालका प्रथम सहिद लखन थापाको सालिक चितवनमा निर्माण ।

-


     केन्द्रीय आवाज    
     वैशाख १६ गते २०८१ मा प्रकाशित


१६ बैशाख चितवन
नेपालका प्रथम सहिद लखन थापाको भरतपुर महानगरपालिका–१ रामनगरमा सालिक स्थापना गरिएको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले सालिकको अनावरण गर्दै सहिदको बलिदानबाट देशमा परिवर्तन सम्भव भएको बताईन । उनले सहिदको बलिदानबाट प्राप्त उपलब्धिको रक्षाका निम्ति सबै जुट्नुपर्नेमा जोड दिईन । उनले लखन थापा पार्क निर्माणमा महानगरपालिकाले सहयोग गर्ने समेत प्रतिबद्धता पनि व्यक्त गरिन ।

लखन थापा पार्क व्यवस्थापन समितिमार्फत साढे तीन फिट अग्लो सालिक निर्माण गरिएको हो । सालिक निर्माणका लागि महानगरले रु ११ लाख ४९ हजार प्रदान गरेको थियो । सालिक निर्माणमा रु १३ लाख खर्च भएको र बाँकी रकम स्थानीयले सहयोग व्यहोरेका समितिका अध्यक्ष निलकुमार मगरले जानकारी दिए ।

उनले सालिक स्थापनासँगै रामनगरमा बृहत् पार्क निर्माणको योजना रहेको बताए । बरण्डाभार जङ्गल क्षेत्रको २१ बिघा जग्गालाई वनभोजस्थल बनाउन लागेको उनले बताए । विसं १८९१ मा गोरखाको काहुले भङ्गारमा जन्मिएका लखन थापा १९३३ को फागुन २ मा सहिद भएका थिए । सरकारले उनलाई २०७३ असोज ३ गते पहिलो सहिद घोषणा गरेको हो ।