सेमिफाइनलमा पुग्यो नेपाल

-


     केन्द्रीय आवाज    
     वैशाख ५ गते २०८१ मा प्रकाशित


बैशाख ५ पोखरा

ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई ६ विकेटले हराएको छ ।

प्रतियोगितामा नेपालको यो लगातार चौथो जित हो । आठ ओभरमा घटाइएको खेलमा साउदीले प्रस्तुत गरेको ७४ रन लक्ष्य नेपालले सात दशमलव दुई ओभरमा चार विकेटको क्षतिमा पछ्यायो ।

नेपाली टोली लिग चरणमा आफ्नो सबै खेल जित्दै आठ अङ्कसहित समूह ‘ए’ को विजेताका रूपमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । नेपालसँग पराजित भएपछि साउदी अरेबिया भने समूहगत चरणबाटै घर फर्कन बाध्य भयो ।

समूह ‘ए’ बाट हड.कङ दोस्रो हुँदै सेमिफाइनलमा पुग्न सफल भयो । बुधबार नै खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा हड.कङले मलेसियालाई सात विकेटले हराएको थियो ।

बुधबारको खेलमा नेपाललाई हराउन सकेको भए साउदी अरेबिया नेट रन रेटका आधारमा हड.कड.लाई पछि पार्दै अन्तिम चारमा पुग्ने थियो ।